रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिका वडा नं ४ को वडा कार्यालयले सभाहल उद्घाटन तथा सम्मान कार्यक्रम गरेको छ । वडामा जनप्रतिनिधि पदस्थापन तेस्रो वर्षको अवसरमा वडा कार्यालय परिसरमा निर्मित सभाहल उद्घाटनसँगै विभिन्न क्षेत्रमार्फत समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको हो ।
वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमणबहादुर थापाले सभाहल उद्घाटन तथा विभिन्न व्यक्तिलाई सम्मान गरेका हुन् । प्रमुख अतिथि थापाले नगरपालिकाले पूर्वाधार विकाससँगै शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । भौतिक पूर्वाधारले मात्र विकासको परिपूर्ति नहुने भन्दै सामाजिक तथा आर्थिक विकासमा नगरपालिकाले ध्यान दिदै आएको उनी बताउँछन् । नगरपालिकाले जनताको जीवनस्तर उकास्नका लागि निरन्तर रुपमा काम गर्दै आएको बताउँदै नगरको विकासका लागि सकारात्मक सुझाव र साथ दिन उनको आग्रह छ ।
जनतामा सकारात्मक सोँचको विकासका लागि नगरपालिका लागि रहेको बताउँदै नगर प्रमुख थापाले सबैको सकारात्मक साँेच, साथ र सहयोगले मात्र नगरको समग्र विकासले सार्थकता प्राप्त गर्ने बताए । नगरपालिकाले गरेका महत्वपूर्ण कामको बारेमा जानकारी दिदै नगरपालिका सदा जनताको पक्षमा रहेको उनले वडाले विभिन्न व्यक्तित्वलाई सम्मान गरेर थप हौसला प्रदान गरेको बताएका छन् ।
उपप्रमुख बालकुमारी थापाले सकारात्मक साथ र सहयोगको अपेक्षा नगरपालिकाले गरेको र न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउन प्रयास गर्दै आएको बताइन् । वडा नं. ४ का मेलमिलापकर्ताको सक्रियताले वडाका अधिकांश विवाद र मुद्दाहरु सहज रुपमा टुङ्गाउन महत्वपूर्ण भुमिका खेलेको उनले जनाइन् ।
अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले अग्रजको योगदान र वलिदानीबाट मात्रै समाज वर्तमान अवस्थामा आएको बताए । उनले स्वदेशमा पछिल्लो समय केही हुँदैन भन्ने भाष्य निर्माण भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै विदेशमा भन्दा आफ्नै गाउँठाउँमा सम्भावनाहरु धेरै रहेको बताएका छन् । नेपाल चार्टड एकाउण्टेन्ट संस्थाका उपाध्यक्ष निलबहादुर सारुले विकासको लागि चेतनाको स्तर वृद्धिमा ध्यान दिनु आवश्यक रहेको बताए । पूर्वाधार संगै शिक्षा क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिएका छन् । पछिल्लो समय पढेर केही हुँदैन भन्ने भाष्य सृजना हुनु दुखद् रहेको भन्दै पढाईमा ध्यान दिन सकेमात्र भविष्यलाई उज्ज्वल बनाउन सकिने उनको भनाइ छ ।
नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँण, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपाली, समाजसेवी दुर्गादेवि राना, साविक दर्छा गाउँविकास समितिका पूर्व उपाध्यक्ष लुकबहादुर विरकट्टा, बाङ्गेपसल भिमसेनटोल विकास संस्थाका अध्यक्ष क्याप्टेन धनबहादुर श्रेष्ठ लगायतले बोल्दै वडाले नगरमा रचात्मक कार्यक्रम गरेकोमा धन्यवाद दिए ।
कार्यक्रमको अवसरमा शिक्षाविद् सुरेन्द्र शर्मा, २०४८ देखि निरन्तर सेवा गर्दै आएका वडाका पूर्व जनप्रतिनिधि, टोल विकास संस्था, पूर्व शिक्षक, विभिन्न विद्यालयमा कार्यरत वडाभित्रका स्थायी शिक्षक, वडा नं. ४ घर भई सरकारी सेवाका कार्यरत कर्मचारी, वडामा बसोबास गर्ने चिकित्सक, स्वस्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, इन्जिनियर, प्राविधिक, वडाभित्रका स्नातकोत्तर तह उत्तिर्ण व्यक्तित्व, रामपुरस्थित सञ्चार संस्था, रामपुर सवडिभिजन वन कार्यालय, सुरक्षा वेश क्याम्प, इलाका प्रहरी चौकी सहितका संघ संस्था र महत्वपूर्ण योगदान दिने व्यक्तित्वसहित १६५ जनालाई सम्मान गरिएको छ ।
सम्मानित व्यक्तित्वलाई दोसला ओढाई, प्रमाण पत्रले सम्मान गरिएको वडाले जनाएको छ । वडाध्यक्ष राम बहादुर रानाले विभिन्न क्षेत्रमार्फत वडालाई चिनाउने तथा समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिको उच्च सम्मानमा कार्यक्रम गरिएको जानकारी दिए । विगत ३ वर्षको अवधीमा वडामा सम्पन्न भएका महत्वपूर्ण कार्य तथा योजनाको बारेमा वडाध्यक्ष रानाले जानकारी गराएका छन् ।
वडा कार्यालय परिसरमा निर्माण भएको सभाहलको चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न पश्चात समुद्घाटन गरिएको हो । सभाहलको व्यवस्थापन र बाँकी कार्य पुरा गर्नको लागि चालु आर्थिक वर्षमा ६ लाख ५० हजार खर्च भएको थियो । वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा सहभागीलाई वडा सदस्य मोहम्मद अजिम शेखले धन्यवाद, वडा सदस्य मोहनसिं रानाको स्वागत र कार्यक्रमको सञ्चालन वडा सचिव सविता आलेले गरेको वडाले जनाएको छ ।
Comments are closed.