बजेटमा लुम्बिनीः सिद्धबाबा सुरुङमार्ग निर्माण र विमानस्थल सञ्चालनमा जोड

लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहिवार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गरेको बजेट वक्तव्यमा लुम्बिनी प्रदेशका महत्वपुर्ण आयोजनाहरुलाई अघि बढाउने घोषणा गरिएको छ । बजेट मन्तव्यमा लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रिय गौरवका आयोजनालगायत अन्य आयोजनालाई बजेट विनियोजन गरिएको घोषणा गरे ।
लुम्बिनी प्रदेशको महत्वपुर्ण राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने गरी निर्माण भइरहेको छ । सिद्धार्थ राजमार्गको पाल्पा–सिद्धबाबा मन्दिरदेखि ११२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि रु दुई अर्ब ६० करोड विनियोजन गरिएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि ११२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । यो आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइनुका साथै विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न बिशेष सुविधा प्रदान गरिने बजेट वक्तव्यमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले घोषणा गरे । नेपालमा अन्तरराष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेको वायुसेवा कम्पनीहरुलाई भैरहवा र पोखराबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइने घोषणा गरिएको छ ।

 

लुम्बिनी प्रदेशअन्तर्गत बर्दियाको बबईलगायतका सिँचाइ आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको उल्लेख छ । यस्तै बाँके जिल्लामा निर्मित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ र वृहत दाङ उपत्यका सिँचाइ आयोजना निर्माणलाई तीव्रता दिन रु आठ अर्ब ५० करोड विनियोजन गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भेरी–बबई डाइभर्सन आयोजनाको हेडवक्र्स र पावरहाउस निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी रु २ अर्ब ७ करोड विनियोजन गरिएको छ ।

 

बहुचर्चित कालिगण्डकी–तिनाउ नदी पथान्तरण(डाइभर्सन) आयोजनाका विस्तृत अध्ययन सम्पन्न गरी निर्माणको ढाँचा यकिन गरिने वजेट वक्तव्यमा उल्लेख छ । साथै दाङ, प्युठान र अर्घाखाँची क्षेत्र भएर बग्ने राप्ती नदीको नौमुरे बहुउद्देश्यीय आयोजनाका लागि लगानी सुनिश्चित गरी निर्माण प्रारम्भ गरिने उल्लेख छ । पर्यटन क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धन गर्न वृहत्त लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयन गरिने भएको छ ।

 

साथै लुम्बिनी प्रदेशका प्रमुख धार्मिक पर्यटकीय केन्द्र बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र प्युठानको स्वर्गद्वारीलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माण गरिने उल्लेख गरिएको छ । निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । यसअन्तर्गत लुम्बिनीदेखि मुक्तिनाथ पदयात्रा सञ्चालन गरिने उल्लेख छ ।

 

यस्तै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सरकारी स्तरको मेडिकल कलेज निर्माणका लागि बुटवल मेडिकल कलेज लगायतका अन्य जिल्लामा निर्माणाधिन तथा प्रस्तावित सरकारी स्तरका मेडिकल कलेजका पूर्वाधार निर्माण अघि बढाउन रु ५६ करोड विनियोजन गरिएको छ । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको निर्माणका लागि लगानी बोर्डमार्फत निजी क्षेत्रको सहभागितामा आधुनिक औद्योगिक क्षेत्र निर्माण गरिने र भैरहवाको एकिकृत जाँच चौकी निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याइने उल्लेख छ ।

 

कृषि क्षेत्रको प्रवद्र्धनका लागि लुम्बिनीलगायतका प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीवस्तुको खेती प्रवद्र्धनका लागि रु ८३ करोड विनियोजन गरिएको छ । रुपन्देहीको सेमलारमा कृषि उपजको सङ्कलन, प्रशोधन, बजारिकरण र निर्यात प्रवद्र्धनका लागि आधुनिक पूर्वाधार निर्माण सुरु गरिने भएको छ । नेपालको प्राचिन इतिहास, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षण गर्ने र अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरणका प्रतिपादक पाणिनी ऋषिको स्मृतिमा पाणिनी ज्ञान उद्यान निर्माण गरिने छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट स्टेडियमलगायतका क्रिकेट स्टेडियम निर्माणका लागि रु ४२ करोड विनियोजन गरिएको छ ।

 

नेपाल चेम्बर अफ लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले अर्थतन्त्रको दबाबकाबीच आएको बजेट राम्रो भएको बताए । उनले बजेटमा अधिकांश राजस्वका दर यथावत रहनु, विशेष आर्थिक क्षेत्र(सेज) सञ्चालका लागि घोषणा गरिएका सुबिधाहरुले निजी क्षेत्रलाई राहत मिल्ने बजेट आएको बताएका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ल्याइएका कार्यक्रम र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि सरकारले विगतमा घोषणा गरेका सहुलियतको निरन्तरता र अहिले घोषणा गरिएको सुविधाले विमानस्थल सञ्चालनमा आशा जगाएको बताए ।

 

नेकपा एमालेका युवा नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य खिमलाल भट्टराइले बजेटले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि घोषित कार्यक्रम महत्वपूर्ण भएको बताएका छन् । सिद्धबाबा सुरुङमार्ग, मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, सेमलारमा अत्याधुनिक कृषि केन्द्रको निर्माण र बुटवल मेडिकल कलेजको निर्माणलगायतका आयोजनामा बजेटले सम्बोधन गरेकाले रुपन्देहीवासीका लागि उत्साहित हुने बजेट आएको उनको प्रतिक्रिया थियो ।
You might also like

Comments are closed.