रामपुरका किसानलाई सहुलियतमा धानको बीउ वितरण

रामपुर (पाल्पा) । सहुलियतमा धानको बीउ पाएपछि पाल्पा रामपुर नगरपालिकाका किसानलाई राहत मिलेको छ । किसानलाई बाहिर बजारमा महँगो मूल्यमा धानको बिउ खरिद गर्ने बाध्यता टरेको रामपुर–६ स्थित विजयपुर बस्ने ओमप्रकाश रेग्मीले बताए ।

“नगरपालिकाले हरेक वर्ष किसानलाई बिउ खरिद गरी सहुलियतमा उपलब्ध गराउदै आएको छ, यसले बजारमा महँगो मूल्य तिरेर खरिद गर्नु परेको छैन, बीउ खरिदमा पनि धेरै खर्च गर्नुपथ्र्यो, कृषि क्षेत्रमा नगर सरकारले प्राथमिकता दिएर काम गरेको छ, यसबाट किसान लाभान्वित बनेका छन्” उनले भने ।

सावित्री १४ हजार दुई सय ९८ किलो, साँवा मन्सुली छ हजार चार सय किलो र रामधान एक हजार तीन सय किलो धानको बिउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई सावित्री प्रतिकिलो रु ३४, रामधान र साँवा मन्सुली प्रतिकिलो रु ३७ का दरले उपलब्ध गराएको उनी बताउँछन् ।

नगरपालिकाले अग्रिम सूचना जारी गरी किसानको माग निवेदनको आधारमा सात सय १५ जना किसानलाई २१ हजार ९९८ किलोग्राम बीउ उपलब्ध गराइएको छ । खाद्यान्न बालीको उन्नत विउ उपयोगमा अनुदान कार्यक्रम मार्फत नगरपालिकाले धान, मकै र गहुँको बिउ उपलब्ध गराउँदै आएको छ ।

कृषि उत्पादन बढाउन नगर सरकारले धान, गहुँ, मकै, तरकारी जस्ता बालीमा अनुदानका विभिन्न कार्यक्रम अगाडी बढाएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । कृषिको लागि रामपुर उर्वरभूमी रहेकाले कृषि उत्पादन बृद्धि गरेर आत्मनिर्भर बनाउन किसानमाझ उत्पादनमुलक कार्यक्रम, विभिन्न उपकरण वितरण, तालिम, गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गरिरहेको नगर प्रमुख थापा बताउँछन् ।

 

 

You might also like

Comments are closed.