विश्व वातावरण दिवस : विरुवा गोडमेल तथा फूल रोपेर मनाइयो

पोखरा । पोखरा महानगरपालिका–६ कृषि सञ्जालले सडक डिभाइडरमा रहेका विरुवा काटछाँट र गोडमेलसहित फूल रोपेर विश्व वातावरण दिवस मनाएको छ ।

आज विश्व वातावरण दिवसको अवसरमा कृषि सञ्जाल पोखरा–६ बैदामको आयोजना र पोखरा महानगरपालिका–६ को प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । बुलौदीखोला देखि हल्लन चोकसम्म रहेको करिब २ कि.मी सडक डिभाइडरमा रहेका फूलका विरुवालाई काटछाँट, गोडमेल गरी विभिन्न प्रजातिका करिब ३ सय फूलका विरुवा रोपिएको सञ्जालकी अध्यक्ष वृन्दा धरेलले जानकारी दिइन् ।

कार्यक्रमका उद्घाटन गर्दै वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारालाई सार्थक बनाउन विश्व वातावरण दिवसको अवसरमा विरुवा गोडमेल र काटछाँट गरी फूलका विरुवा रोपिएको बताए । हरियाली सडक डिभाइडर र पर्यटकीय आकर्षित स्थान बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले जनाए ।

निवर्तमान वडाध्यक्ष जगतबहादुर पहारीले वातावरण स्वच्छ भए हाम्रो जीवन पनि स्वस्थ हुन्छ तर प्रायः मानिस वातावरणीय स्वच्छता जस्तो अति संवेदनशील क्षेत्रप्रति मौन वा अनुत्तरदायी बनिदिँदा जंगल र बोटविरुवा मासिदै गएको बताए । सचिव चन्द्रकला घिमिरे पहारीले वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आमसरोकारवाला एकजुट भएर अगाडि बढ्नुपर्ने बताइन ।

दिवसको अवसरमा बोटविरुवा संरक्षणकर्मी जगनाथ तिमिल्सिनालाई सम्मान गरिएको छ । कार्यक्रममा बैदाम क्षेत्रमा रहेको विभिन्न संघ संस्था सहभागी थिए ।

You might also like

Comments are closed.

Secret Link