रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिका–५ स्थित रामघाटमा आइतबार नगरस्तरीय ज्येष्ठ नागरिक भेला सम्पन्न भएको छ । नगर आयोजनामा लक्ष्मीनारायण मन्दिर रामघाटमा भेला सम्पन्न भएको हो ।
भेलामा सहभागी ज्येष्ठ नागरिकलाई कानूनी सचेतना प्रदान गर्नुका साथै स्वास्थ्य परीक्षण र दोसला ओढाई सम्मान गरिएको छ । रामपुर नगर प्रमुख रमणबहादुर थापाले ज्येष्ठ नागरिक जिउँदो भगवानको स्वरुप रहेको बताउँदै उहाँहरुको मार्गदर्शनले मात्र समाजले गति लिने बताए । ज्येष्ठ नागरिकको उचित हेरचाह र सम्मान गर्नु हामी सबैको दायित्व रहेको बताउँदै संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा सामाजिक संरचना नै कमजोर हुँदै गएको बताएका छन् ।
यस समस्याको समाधानका लागि रामपुर नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्कुल’ सञ्चालनको तयारी गरिरहेको उनी बताउँछन् । सो स्कुल लक्ष्मी नारायण मन्दिर परिसरमा स्थापना सञ्चालनको लागि तयारी भइरहेको नगर प्रमुख थापाले जानकारी दिदै जहाँ बालबालिकालाई संस्कार, संस्कृति तथा परम्परागत सीप हस्तान्तरण गरिनुका साथै ज्येष्ठ नागरिकलाई भजनकिर्तन, अध्ययन र सामाजिक मेलमिलापका लागि अनुकूल वातावरण सिर्जना गरिने बताए । स्कुल सञ्चालनका लागि नगरपालिकाले बस समेत खरिद गरिसकेको र सडक पूर्वाधार निर्माणसँगै आवश्यक व्यवस्थापनको कार्य पश्चात छिट्टै सञ्चालन गरिने थापा बताउँछन् ।
नगर उपप्रमुख बालकुमारी थापाले ज्येष्ठ नागरिकको सेवा गर्नु र सम्मान गर्नु छोराछोरी मात्र नभै हामी सबैको दायित्व रहेको बताइन् । नगर प्रवक्ता कपिलबहादुर खाँणले नगरपालिकाद्वारा सञ्चालित विभिन्न कार्यक्रम र योजनाबारे जानकारी दिइन् । नगरपालिकाले बालबालिका, युवा देखि ज्येष्ठ नागरिकसम्म लक्षित गरेर आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको उनी बताउँछिन् ।
ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष देवराज ढकालले ज्येष्ठ नागरिकका हक अधिकारका पक्षमा मञ्चले निरन्तर आवाज उठाउँदै आएको बताए । जिल्ला सदस्य केशवराज पंगेनीले पनि ज्येष्ठ नागरिकहरुलाई एकताबद्ध भएर लाग्न आग्रह गरे । लक्ष्मीनारायण मन्दिर सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले स्कुल सञ्चालनका लागि मन्दिरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नगरभित्रका ज्येष्ठ नागरिकलाई दोसला ओढाई सम्मान गरिएको छ । नगर नगरपालिकाका स्वास्थ्यकर्मीको उपस्थितिमा स्वास्थ्य जाँच तथा परामर्श सेवा प्रदान गरिएको छ । ज्येष्ठ नागरिकको लागि राज्यले प्रदान गरेको सुविधा, अधिकारको विषयमा रामपुर नगरपालिका प्रशासन अधिकृत युवराज पन्थीले जानकारी गराएका छन् ।
नगर प्रमुख थापाको अध्यक्षतामा भएको भेला उपप्रमुख थापाको स्वागत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुजा परियारको सञ्चालनमा भएको हो । ज्येष्ठ नागरिक संघ नगर अध्यक्षमा कृष्णप्रसाद अर्याल चयन गरिएको छ । नगरस्तरीय ज्येष्ठ नागरिक भेलाले अर्यालको नेतृत्वमा समिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई र लक्ष्मण भण्डारी, सचिवमा तिर्थप्रसाद ढुङ्गाना, सहसचिवमा हरिप्रसाद आचार्य, कोषाध्यक्षमा सीता राना तथा सदस्यहरू यज्ञमूर्ति घिमिरे र मकबुल मियाँ चयन गरिएको छ ।






Comments are closed.