रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाकाले बालबालिकालाई पोषण तथा सहायक शैक्षिक सामग्री सहयोग गरेको छ । शारीरिक तथा मानसिक समस्यामा रहेका, दीर्घरोगी, पारिवारिक लगायतका विभिन्न समस्यासँग जुँधिरहेका बालबालिकालाई पोषणयुक्त आहार, पठनपाठनका लागि सहायक सामग्री सहयोग गरिएको छ ।
यहाँका ६ जना बालबालिकालाई राहतस्वरुप आपतकालीन बाल उद्धार कोषमार्फत पोषण सामग्री र पठनपाठनका लागि सहायक सामग्री प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले जानकारी दिइन् । उनका अनुसार नगरपालिकाले दृष्टिविहिन पृथ्वी नारायण क्याम्पस पोखरामा बिएड तेस्रो वर्षमा अध्ययनरत रामपुर–६ का विपना खनाललाई एक थान ल्यापटप सहयोग गरेको छ ।
नगरपालिकाले पारिवारिक समस्या, अनाथ बालबालिका, मानसिक तथा दीर्घ रोगबाट ग्रसित लगायत विभिन्न समस्या भोगिरहेका बालबालिका, जेहेन्दार, आर्थिक अवस्था कमजोर भएकालाई राहतका सामग्री तथा छात्रवृत्ति रकम समेत उपलब्ध गराउँदै आइरहेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् ।
नगरपालिकाले विभिन्न शीर्षकमा बजेट विनियोजन गरेर बालबालिकालाई सहयोग गर्दै आएको नगर प्रमुख थापाले बताए । विद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि नगर सरकारले मेयर छात्रवृत्ति कार्यक्रममार्फत रकम उपलब्ध गराइरहेको उनको भनाइ छ ।
Comments are closed.