रामपुरमा स्थानीय नेवाः भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

सुशीला रेग्मी/रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको स्थानीय नेवाः भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेवाः देय् दवु रामपुर नगर समितिको आयोजनामा एक महिनासम्म सञ्चालन भएको कार्यक्रम शुक्रबार सकिएको हो ।

नगर समितिका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठ रहेका हुन् । समिति सभापति श्रेष्ठले संस्कृति र संस्कार अन्य समुदायको भन्दा नेवार समुदायको भिन्न खालको रहेको बताउदै संस्कार र संस्कृति जानियो भने आफ्नो अनुशासन रहने बताए । हरेक समुदायले आफ्नो भाषा संस्कृति संरक्षणमा जोड दिनुपर्ने बताउदै नेवारी भाषा संरक्षणका लागि आयोजना भएको यस कार्यक्रम अत्यन्तै उपयोगी हुने उनले बताएका छन् ।

पुर्वि पाल्पा, स्याङ्जा, तनहुलाई समेट्ने गरी रामपुरमा नेवा समुदायको सङ्ग्रहालय निर्माणको थालनी भएको बताउदै उनले लुम्बिनी प्रदेश सरकारले नेवा समुदायको सङ्ग्रहालय निर्माणका लागि आगामी वर्षका लागि रु १५ लाख रकम विनियोजन गरेको जानकारी दिए । लुम्बिनी प्रदेश सरकारले विद्यालय सिकाई कार्यक्रम अन्तर्गत यहाका विभिन्न भाषा सिकाईका कार्यक्रम राख्ने प्रयत्न गरेको उनले बताए ।

नगर समिति अध्यक्ष श्रेष्ठले नेवा भाषा संरक्षण गर्ने उद्देश्यले यो कार्यक्रम राखेको जानकारी दिदै समुदायका व्यक्ति भेटघाटमा आफ्नै भाषा प्रयोगमा जोड दिन आग्रह गरेका छन् । कार्यक्रममा नेवाः देय् दवु पाल्पाका बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, उपाध्यक्ष शान्ति श्रेष्ठ, रामपुर नेवा समाजका अध्यक्ष बाबुराम श्रेष्ठ, रामपुर नेवा समाजका सचिव बिमल श्रेष्ठ, रामपुर आवासिय अंग्रेजी स्कुलका अध्यक्ष गुरुप्रसाद रेग्मी, रामतुलसी नमुना माविका अध्यक्ष अशोक श्रेष्ठ लगायतले आफ्ना भनाइ राख्दै हरेक समुदायले आफ्नो भाषा संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

समितिका उपाध्यक्ष सीता प्रधानको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद बरिष्ठ उपाध्यक्ष मोहन श्रेष्ठले दिएका हुन् । कार्यक्रममा ३२ जनालाई ज्ञान सीप सिकाइएको छ । नेवा भाषा संस्कृति संरक्षणका लागि समितिले प्रशिक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रमको अवसरमा प्रशिक्षक लेखप्रसाद श्रेष्ठ र रामपुर आवासिय अंग्रेजी स्कुलका कर्मचारी राधाकुमारी रानालाई सम्मान गरिएको छ । रामपुर आवासिय अंग्रेजी स्कुलमा भएको कार्यक्रमको सञ्चालन समितिका सचिव लेखप्रसाद श्रेष्ठले गरेका हुन् ।

You might also like

Comments are closed.