ऊर्जामा दक्ष जनशक्ति तयार पार्न द्विपक्षीय सम्झौता

काठमाडौं । पछिल्ला दिनमा मुलुकभित्र उल्लेख्य मात्रामा जलविद्युत आयोजना निर्माण भए पनि दक्ष जनशक्तिको अभाव रहँदै आएको तथ्यलाई मनन गर्दै ऊर्जा उद्यमीले साझेदारी गरेरै भए पनि मानवस्रोतको विकासमा ध्यान दिने भएका छन् ।

सोही उद्देश्यअनुसार मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) र गैरसरकारी संस्था शेषकान्त फाउण्डेशनबीच दक्षजनशक्ति उत्पादन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य र फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

जलविद्युत् आयोजना निर्माण, सञ्चालन तथा मर्मतसम्भारका लागि योग्य, आवश्यक र दक्ष सीपयुक्त जनशक्ति उत्पादन गर्ने विषयलाई सम्झौतामा महत्वका साथ समेटिएको छ । इपानका अध्यक्ष आचार्यका अनुसार फाउन्डेसनले जलविद्युत् क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन तथा विकासमा सहकार्य गर्नेछ ।

धादिङको धुनिबेँसी नगरपालिकामा हालै सञ्चालनमा आएको फाउण्डेसनले दक्ष जनशक्ति उत्पादनका लागि सरकारसँग अनुमतिसमेत लिएको छ । जर्मन प्राविधिक शिक्षालयको समेत सहयोग रहेको सो फाउण्डेसनले जलविद्युत् क्षेत्रमा अत्यावश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने फाउण्डेसनका अध्यक्ष ढकालको भनाइ छ ।

सबै पाठ्यक्रम तयार पारेर आगामी छ महिनाभित्र जलविद्युत क्षेत्रका लागि जनशक्ति तालीम दिन शुरु गर्ने जानकारी दिँदै अध्यक्ष ढकालले प्रवद्र्धकसँगको सहकार्यमा नै काम हुने बताए । हाल शिक्षालयमा २० ले प्रशिक्षण लिइरहेका छन् । निर्माणाधीन होस्टल, शिक्षालय भवन र उपकरण आयातसहित हालसम्म रु १४ करोड खर्च भइसकेको छ ।

You might also like

Comments are closed.