सर्लाही । उखुको मूल्य नबढ्नु, समयमा भुक्तानी नपाउनुलगायतका कारण सर्लाहीलगायतका जिल्लाहरूमा उखु खेती घटेको छ ।
सरकारले उपलब्ध गराउने भनेको अनुदानसमेत समयमा नपाएपछि किसानहरूले उखु खेती मासेर अरू खेती लगाउन थालेका सर्लाहीको हरिवनका किसान रामशरण उप्रेतीले बताए । सर्लाहीमा उत्पादन भएको उखु तीन वटा चिनी कारखानाले क्रसिङ गर्दै आएका छन् ।
केही वर्षदेखि उखु खेती घट्दै गएकाले चिनी कारखानाहरू क्रसिङ सिजनमै बन्द हुने गरेका छन् । यस वर्ष धनकौलको अन्नपूर्ण सुगरमिलले ९ लाख क्विन्टल उखु क्रसिङ गरेर माघको पहिलो हप्ता बन्द भयो ।
त्यसैगरी बगदहको महालक्ष्मी सुगर मिल १३ लाख ८० हजार क्विन्टल र हरिवनको इन्दुशङ्कर चिनी कारखाना ३० लाख ५२ हजार क्विन्टल उखु क्रसिङ गरेर बन्द भएका थिए । त्यो उनीहरूको क्षमताको ६० देखि ७० प्रतिशत हाराहारीमात्रै हो ।
सरकारले यस वर्ष उखु किसानलाई दिने अनुदान घटाएपछि किसानहरू थप चिन्तित भएका छन् । सरकारले दिँदै आएको उखुको अनुदान प्रतिक्विन्टल ७० रुपैयाँबाट घटेर यस वर्ष ३५ रुपैयाँमा झरेको छ ।
उद्योग र सरकारले समयमै किसानलाई उखु खेतीप्रति आकर्षित गर्न नसके धेरै किसानले उखु खेती छाड्ने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनाली बताउँछन् ।
Comments are closed.