पाल्पा । पाल्पामा ब्लड बैंक स्थापना भई सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ब्लड बैंक सञ्चालनमा ल्याएको हो । ‘हाम्रो ब्लड बैंक, हामी बनाउँछौँ’ भन्ने अभियान सुरु गरेको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा ब्लड बैंक स्थापना गरी शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
ब्लड बैंक सञ्चालनका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु ५० लाखमा अत्याधुनिक उपकरण, रामपुर नगरपालिकाबाट रु १० लाख बराबरको जेनेटर, रम्भा गाउँपालिकाबाट रु पाँच लाख बराबरको एसि र फ्रिज, रिब्दीकोट गाउँपालिकाबाट रु पाँच लाख बराबरको ब्याट्रीलगायत सामग्री खरिदका लागि सहयोग प्राप्त भएको रेडक्रसले जनाएको छ ।
रेडक्रसले विसं २०८० चैतदेखि साझा अभियानका रूपमा अगाडि बढाएको उक्त अभियानमा स्थानीय प्रदेश, सङ्घीय सरकारसँगै जिल्लामा रहेका र जिल्लाबाहिर रहेका पाल्पालीले पनि आर्थिक सहयोग गरेका छन् । ब्लड बैँक भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट गत वर्ष रु एक करोड ५० लाख र चालु आर्थिक वर्षमा रु तीन करोड रकम विनियोजन भएको थियो ।
चार ठूला अस्पतालसहित एउटा डायलाइसिस सेन्टरका लागि रगत अभाव परिपूर्ति गर्ने उद्देश्यले ब्लड बैंक सञ्चालनमा ल्याइएको शाखाका सभापति बाबुराम कार्कीले बताए । जिल्लामा हरेक महिना तीन सयदेखि तीन सय ५० प्वाइन्ट र वार्षिक रूपमा चार हजार ५०० प्वाइन्ट रगतको आवश्यकता पर्ने गरेको छ ।
नियमित रूपमा ब्लड बैंक सञ्चालन तथा चालु खर्च व्यवस्थापनका लागि रेडक्रस पाल्पाले विभिन्न व्यक्ति, सङ्घ संस्थाबाट रु ६८ लाख सङ्कलन गरेको जनाउँदै रकम सङ्कलन अभियान जारी रहेको शाखा कोषाध्यक्ष सन्तोष खनालले बताए ।
तत्कालका लागि अस्थायी रूपमा शाखा कार्यालयमा ब्लड बैंक सञ्चालन गरिएको बताउँदै स्थायी रूपमा तानसेन नगरपालिका भुसालडाँडामा भवन निर्माण भइरहेको कार्यालय प्रमुख विनोद भारतीले जानकारी दिए ।
Comments are closed.