रामपुर (पाल्पा) । गत साउनमा रामपुरमा भएको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सवको खर्च सार्वजनिक गरिएको छ ।
श्रीमद्भागवत महापुराण÷शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूल आयोजक समितिले रामपुर नगरपालिका–६, पूर्वटारमा साउन १२ देखि ३१ गतेसम्म सञ्चालन भएको महायज्ञको खर्च सार्वजनिक गरेको आयोजकले जनाएको छ । संगित पाठशाला सञ्चालन सहयोगार्थ रामपुर भजनकिर्तन मण्डली (भजनकीर्तन समाज) रामपुरले सञ्चालन भएको श्रावणी महोत्सवको पूर्वटारमा पत्रकार तथा सरोकारवालाको उपस्थितिमा खर्च सार्वजनिक गरिएको हो ।
श्रीमद्भागवत महापुराण÷शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूलआयोजक समितिका अध्यक्ष कृष्णप्रसाद अर्यालले यज्ञमा दान रकममध्ये रसिदबाट २९ लाख ७४ हजार १४४ रुपैयाँ, दान पेटिकाबाट ७० हजार ५५८ रुपैयाँ गरी ३० लाख ४४ हजार ७०२ रुपैयाँ आम्दानी भएको जानकारी दिए । यज्ञ सञ्चालन र व्यवस्थापनमा १६ लाख १९ हजार ४३३ रुपैयाँ खर्च भएको बताए । यज्ञबाट १४ लाख २५ हजार २६९ रुपैयाँ बचत भएको उनी बताउँछन् ।
जसमध्ये १२ लाख ९९ हजार २५८ रुपैयाँ सहकारीमा बचत रहेको र एक लाख २६ हजार ११ रुपैयाँ उठ्न बाँकी रहेको छ । उनले यज्ञ सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै उद्देश्य अनुसार काम अघि बढाउने बताए । कार्यक्रममा रामपुर भजनकिर्तन मण्डलीका सचिव पुरुषोत्तम ढकालले खर्चको विवरण सुनाए ।
यज्ञ सञ्चालन र व्यवस्थापनमा १६ लाख १९ हजार ४३३ रुपैयाँ खर्चमध्ये पण्डित तथा भजनकिर्तन व्यवस्थापनमा ४ लाख ५८ हजार ४०४, भान्सा, प्रसादी तथा पुजा व्यवस्थापनमा १ लाख ७८ हजार ९४३, छपाइ व्यवस्थापन प्रेस ३ लाख १० हजार १११, टेन्ट, साउण्ड तथा कुर्ची व्यवस्थापनमा २ लाख ५७ हजार २८५, विद्युत खानेपानी तथा सरसफाईमा ३८ हजार ८०७, सम्मान सामग्री व्यवस्थापनमा १ लाख ८ हजार ७०, यातायात व्यवस्थापनमा १३ हजार ५००, सूचना सञ्चार तथा भिडियो छायाङ्कनमा ९४ हजार, स्टेशनरी सामान २ हजार ९०८, यज्ञ व्यवस्थापनमा १ लाख ५७ हजार ४०५ खर्च भएको बताए ।
कार्यक्रममा रामपुर भजनकिर्तन मण्डलीका सल्लाहाकार देवराज ढकाल, हुमानथ न्यौपाने, विष्णुमायाँ ढकाल लगायतले आफ्ना सुझावसहितको भनाइ राखेका छन् ।
Comments are closed.