तिहारमा फूलको अभाव

सुशीला रेग्मी/रामपुर (पाल्पा) । तिहारमा फूलको अभाव सिर्जना भएको छ । व्यावसायिक उत्पादन कम खरिदकर्ता बढेपछि फूलको अभाव बढेको हो । अघिल्लो वर्षको तुलनामा यसवर्ष फूल खरिद गर्ने धेरै ग्राहक बढेको पाल्पा रामपुरका व्यवसायी दिलबहादुर थापा बताउँछन् ।

उनले बिगत ५ वर्षदेखि सयपत्री फूल खेती गर्दै आएका छन् । यतिबेला उनको घरमा लगाइएका फूल सबै सकिइसकेको छ । तिहारको अघिल्लो दिन उनको घरमा फूल खरिद गर्न जाने ग्राहक रित्तै फर्केका छन् । तिहार आउनु तीन दिन अगाडि नै फूल जति सबै सकिएको व्यवसायी थापा बताउँछन् ।

“धेरै ग्राहकलाई रित्तो हात फर्काउनु परेको छ, कतिले फोन सम्पर्क गरेर राख्न भन्नुभएको थियो, तिहार सुरु भएलगत्तै सबै फूल सकियो, तिहारमा ग्राहकलाई रित्तो हात फर्काउनु पर्दा दुःख लागेको छ” उनले भने ।

प्रतिकिलो रु ५ सयका दरले बोटबाटै धमाधम फूल बेचेर सकिएको उनी बताउँछन् । यस पटक २ सय किलो बढी फूल बिक्री भएको थापाले जानकारी दिए । अन्यत्रको तुलनामा भाउ सस्तो भएकाले ग्राहकले तिहार सुरु भएलगत्तै घरमै आएर खरिद गरेको थापाको भनाइ छ ।

यसवर्ष तिहार अगाडि नै पर्नु, फूल कोपिला लागेर फक्रने अवस्थामा रहेकाले गाउँघरमा फूलको अभाव सिर्जना भएको छ । घरका आँगन, डिल, बाटोको छेउछाउमा कोपिला लाग्दै गरेका, कुनै फक्रने समय भएकाले स्थानीयले पनि फूल खरिद गर्न फार्म तथा व्यापारीकहाँ पुग्ने गरेका छन् ।

 

You might also like

Comments are closed.