टाईम्स मिडिया हाउसको आयोजनामा ‘सुरताल म्युजिकल टूर’ हुँदै, नाफाको २० प्रतिशत सामाजिक कार्यमा खर्च गरिने

पोखरा । नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित देशव्यापी सांगीतिक यात्रा ‘सुरताल म्युजिकल टूर २०८३’ आयोजना हुने भएको छ। ‘अब गुन्जिन्छ नेपाल, एउटै सुर, एउटै ताल’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको उक्त सांगीतिक यात्रा सातै प्रदेशका १३ वटा प्रमुख सहरमा आयोजना गरिने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

सुरताल म्युजिकल टूर २०८३ आगामी पौष ४ गते साँझ ५ बजेदेखि पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानबाट सुरु हुने आयोजक टाईम्स मिडिया हाउस प्रालिका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए । देशका विभिन्न सहरमा पुगेर नेपाली संगीतप्रेमीमाझ सांगीतिक उत्सव प्रस्तुत गर्ने र संगीतका माध्यमबाट नेपाली कला तथा संस्कृतिलाई थप प्रवर्द्धन गर्ने लक्ष्यसहित यात्रा सञ्चालन गर्न लागिएको उनले बताए ।

कार्यक्रमका निर्देशक शिवराम तिवारीले नेपाली संगीत क्षेत्रको उत्थान, कलाकारको प्रोत्साहन तथा मौलिक कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सांगीतिक यात्राको अवधारणा अघि सारिएको बताए। संगीतलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सामाजिक एकता, सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा स्थापित गर्न खोजिएको उनको भनाइ थियो।

त्यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील नेपालीले कार्यक्रम सञ्चालनका क्रममा हुने खर्च कटाएर बचत भएको नाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने जानकारी दिए। सातै प्रदेशका १३ वटा प्रमुख सहरमा सांगीतिक कार्यक्रम आयोजना गरी अन्तिम कार्यक्रम पोखरामा सम्पन्न गरिने उनले बताए। नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरूसँग सहकार्य गर्दै २३ सदस्यीय कलाकार टोली तयार गरिएको पनि सीईओ नेपालीले जानकारी दिए । उक्त सांगीतिक यात्रामा प्रकाश सपूत एण्ड भाका नेपाल, प्रमोद खरेल एण्ड परम्परा तथा द फिरन्ते ब्याण्डको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

स्थापनाको छोटो समयमै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यसँगै नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको टाईम्स मिडिया हाउस प्रालिले यस कार्यक्रमलाई पनि मनोरञ्जनसँगै सामाजिक अभियानका रूपमा अगाडि बढाउन खोजेको जनाएको छ।

टाईम्स मिडिया हाउस प्रालिको आयोजना तथा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको सहआयोजनामा सञ्चालन हुन लागेको यस सांगीतिक यात्राले देशका विभिन्न भूगोल, समुदाय र पुस्तालाई संगीतको एउटै लयमा जोड्दै नेपाली संगीत क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.

Secret Link