मोटर गुडे, पाइलाका डोब मेटिए

ध्रुवसागर शर्मा, गलेश्वर । गोरेटो बाटामा स्याउलाले बारेका र खरले छाएका छाप्रे चिया पसल । एक मोहोर तिरेपछि एक गिलास चिया पिउन पाइने । मान्छेको कोलाहल र खच्चर हिँड्दा घाँटीमा झुण्डाइएका घण्टी बजेपछि आउने चर्को आवाजले बिहान ४ बजेदेखि नै गुञ्जायमान हुने बाटो र सुरु हुने बाटाको दायाँबायाँ बनाइएका अस्थायी छाप्रामा घुम्ती व्यापारीको दिनचर्या ।

चालीस पचास वर्षअघि यस्तै अवस्था थियो । सरकारी कर्मचारी, गाउँका साहु महाजन र मुक्तिनाथ दर्शनका लागि आएका धनीमानी व्यक्ति घोडामा सवार हुन्थे । भरिया, तीर्थयात्री र मजदुरी गर्न ओहोरदोहोर गर्ने व्यक्ति पैदलमा हुन्थे र पिठ्यूँमा डोकाभरिको सामान बोक्थे । भरिया र ढाक्रेहरू भारी बोकेर हिँड्दा हिँड्दै जहाँ रात पर्छ त्यही भारी बिसाउँथे । पाए ठाँटी, नपाए चौतारी वा रुखको फेदमा नै खाना पकाएर खान्थे र सुत्थे । खल्तीमा पैसा हुने र घोडामा सवार भएकाहरू होटलमा बास बस्थे ।

यो अहिलेको बेनी–जोमसोम सडक बन्नुभन्दा पहिलाको वास्तविकता हो जति बेला म्याग्दी र मुस्ताङमा कुनै पनि सडक खनिएका थिएनन् तर अहिले यहाँको अवस्था फेरिएको छ । पैदल हिँड्ने बाटाको नामोनिसान छैन । फराकिलो सडक बनेको छ । सडकमा मोटर गुडेका छन् तर पुर्खाका पाइलाको डोव मेटिएका छन् ।

उहिले बेनी नेपाल–भोट व्यापारको प्रमुख नाका थियो । बेनीमा बजार विस्तार भइसकेको थिएन । खर र ढुङ्गाले छाएका केही घर मात्र थिए । अस्थायी मण्डी र साप्ताहिक हाटबजार लाग्ने गथ्र्याे । त्यही मण्डी र हाटबजारमा खरिदबिक्री गर्न बुटवलबाट स्याङ्जाको सेती दोभान र पर्वतको कुस्मा हुँदै सामान आयात गरिन्थ्यो । म्याग्दी र मुस्ताङमा दैनिक उपभोग्य देखि निर्माण सामग्री पु¥याउनका लागि प्रयोग हुने मुख्य नाका नै बेनी बजार रहेको त्यतिबेलाका जानकार बताउँछन् ।

मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँका अनुसार बेनी बजार १७ औंँ शताब्दीमा स्थापना भएको हो । विसं १६३१ मा पर्वत राज्यको बिखण्डन भयो । सोह्र हजार पर्वत सामेल रहेको पर्वत राज्यबाट गलकोट र कास्की राज्य अलग भए । राजा राजबम मल्लले पर्वत राज्य सम्हाले । उनैले आफ्नो राज्यभित्रका नागरिकको आर्थिक उपार्जनको बाटो र राज्य सञ्चालनको खर्चको खोजी गर्दा बेनीले व्यावसायिक यात्राको सुरुआत गरेको बानियाँले आफ्ना कृतिमा उल्लेख गरेका छन् ।

तत्कालीन समयमा बेनी बजार चौबाटामा पथ्र्याे । मुस्ताङ, बागलुङ र रुकुमको चौबाटो पर्ने भएकाले राजा राजाबमले व्यापारको अक्कल लगाए । खानी सञ्चालनमा आए । ज्यामरुककोटबाट ल्याइएका कालीगढले तामा र फलाम निकाल्न थाले । तामा र फलामबाट सुरु भएको बेनीको व्यापार सुन, नुन र ऊन हुँदै अहिले सूचना प्रविधि र विकासनिर्माणका सामानको व्यापारिक केन्द्र नै बनेको छ ।

विसं २०६४ मा नेपाली सेनाले साधारण मार्ग खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेपछि बेनी–जोमसोम सडकमा गाडी गुड्न थाले । बेनी–जोमसोम सडकका क्षेत्रमा रहेका आधा दर्जन बढी अस्थायी बजार र पदमार्ग मासिए पनि म्याग्दीको बेनी बजार र मुस्ताङको जोमसोम बजारको रौनक थपियो ।

बेनीबाट भारी बोकेर मुस्ताङ र मुस्ताङबाट नुन र स्याउ बोकेर बेनी ल्याउन पटकपटक ओहोरदोहोर गरेका बेनी नगरपालिका –२ का ९६ वर्षीय खड्गबहादुर थापा सडक बनेपछि मोटर चढेर एक पटक मुस्ताङ पुगे । भरियाको रूपमा पहिला कयौँ पटक मुस्ताङ पुगेका थापालाई सडकमा गाडी चढेर मुस्ताङ जाँदा अनौठो लाग्यो । “त्यस बेलाको कुरा सुनाउने हो भने अहिलेका नयाँ पुस्तालाई पत्याउनै कठिन हुन्छ । चारपाँच रुपैयाँ भयो भने टन्न खान पाइन्थ्यो । पिठ्यूँमा भारी बोकेर बेनी–जोमसोम गर्न एक हप्ताभन्दा बढी लाग्थ्यो । डोको बोकेर हिँड्दै जाने, जहाँ पुग्दा रात पर्छ, त्यहींँ बस्ने गथ्र्याैँ । ठाँटी भएका ठाउँमा पुगे त्यही ठाँटीमा नत्र यसो रुखमुनि भारी बिसाउँथ्यौँ, त्यही भारीको छेउमा निदाएर बिहानै ४ बजे फेरि भारी बोकेर हिँड्थ्यौंँ”, थापाले भने ।

उनका अनुसार त्यस बेलामा मुस्ताङमा मात्रै होइन, उत्तरी म्याग्दीका विभिन्न गाउँमा भारी बोकेर खाद्यान्नलगायत सामग्री लैजाने भरिया बढी हुन्थे । तिनले चामल, चिनी, चियापत्ती, नुन, तेललगायत सामान बोकेका हुन्थे । नदी किनारबाट मानवीय सभ्यता र बाटाका छेउबाट व्यापारको सुरुआत भएको मानिन्छ । बेनी –जोमसोम सडकको पुरानो अवस्थालाई अध्ययन गर्ने हो भने कालीगण्डकीका छेउछाउबाट नै थकाली र मगर संस्कृति मौलाएको पाइने बेनीका ८० वर्षीय नैनकुमार श्रेष्ठले बताए । “मानवीय सभ्यताहरू नदी छेउछाउबाट सुरु भएका छन् । बिस्तारै मान्छेहरू छिरलिएर बस्न थालेपछि ती सभ्यता पनि बसाइँ सरे वा फैलिए”, श्रेष्ठले भने, “समयसंँगै विकास आयो र विकाससंँगै सुविधा । सुविधा पाएपछि मान्छेले सबै भुल्यो, गोरेटो बाटो भुल्यो, चौतारी र ठाँटी बिर्सियो, आफ्ना पुर्खाका पैतालाका डोबलाई फलामे दाँत भएको डोजर लगाएर कोप¥यो, सडक बनायो, गाडीमा हुइँकियो ।”

उनका अनुसार पहिलो पटक बेनी– जोमसोम सडक बनेपछि भने सवारी साधनमा ओसारपसार र यात्रा हुन थाल्यो । नदी छेउमा मानव सभ्यता विकास भए जस्तै सडक छेउमा बस्ती बस्न थाले अनि सुरु भयो बजारीकरण । पहिलेपहिले ठाँटी, सत्तल र स्याउले बजार रहेका बेनी–जोमसोम सडक क्षेत्रका गलेश्वर, चमेरे, भुरुङ तातोपानी, दाना, लेतेलगायत दर्जनभन्दा बढी ठाउँमा बजार विस्तार भएका छन् ।

यता बेनी बजार विस्तारको कथा भने विकाससंँगभन्दा बढी तत्कालीन राजनीति र ऐतिहासिक पृष्ठभूमिसँंग जोडिएको छ । तत्कालीन बाइसे–चौबिसे राजाका पालामा पर्वत राज्यको मुकाम बेनीबजार १७ अौँ शताब्दीमा स्थापना भएको हो । अरू बजार नेवार समुदायले सुरुआत गरेको इतिहास रहे पनि बेनी बजारमा व्यापारको जग कामी समुदायका व्यक्तिले राखेको पाइन्छ । बेनी बजारबाट त्यतिबेला नै तामा, फलाम र धातुको व्यापार सुरु भएको लेखक तथा इतिहासकार बानिया बताउँछन् । उनका अनुसार अहिलेको म्याग्दीमा पर्ने बेनीबजार सुरुमा बगर थियो । “पर्वत बेनीमा पर्ने कालीगण्डकीका तीरबाट व्यापार सुरु भएको हो । पर्वत राज्यमा उब्जाउ हुने जमिन थिएन, आयस्रोत भनेकै व्यापार देखेर राजाले व्यापार गर्न लगाएको पाइन्छ”, बानियाँले आफ्ना कृतिमा लेख्नुभएको छ । उहाँका अनुसार पर्वत राज्यका सातौँ राजा मलेबम मल्लले पहिले बेनीबजारभन्दा केही टाढामाथि रहेको दरबार बेनीमा सारे । उनको राजकाज त्यहींँबाट हुन थाल्यो र कर उठाउन थाले । त्यसपछि बेनीको व्यापार थप बढेको थियो । बाइसे –चौबिसे राजाका पाला सबैभन्दा पहिले मुद्राको सुरुआत पर्वत राज्यबाट भएको इतिहास छ । बेनीमा टक्सार (मुद्रा काट्ने यन्त्र) राखेर मुद्राको प्रचलन सुरु गरिएको इतिहास छ ।

करिब पाँच सय वर्षको इतिहास रहेको बेनीबजारले अहिलेसम्म पनि आफ्नो साख जोगाइरहेको छ । पैदल हिँडे घोरेपानीको बाटो हो, नत्र बेनी बजार म्याग्दी, मुस्ताङको एक मात्रै नाका हो । पछिल्लो समय जिल्लाका गाउँगाउँसम्म सडक पुगेका छन् । राज्यको पुनःसंरचना भएपछि पालिका मुकाम बनेका छन् तर बेनी बजार भने यी सबै परिवर्तनसँग अनुकूलित हुने गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका भूतपूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ बताउँछन् । विसं २०१७ मा म्याग्दी वेणी र पर्वत वेणीलाई जोड्ने गरी म्याग्दी खोलामा पुल बनेपछि बेनी बजारको व्यापारले गति लिएको श्रेष्ठको भनाइ छ ।

अहिले पनि बेनी बजारको व्यापारमा कुनै कमी आएको छैन । गाउँगाउँमा बजार विस्तार भए पनि ‘ट्रान्जिट प्वाइन्ट’ भएको हुँदा बेनीबजार सदाबहार नै छ । मुस्ताङको स्याउ र च्याङ्ग्राको मुख्य बजार बेनी हो भने म्याग्दी र मुस्ताङको खाद्यान्न पनि बेनीबाट नै वितरित हुने गर्छ । बेनी–जोमसोम खण्डमा पर्ने पोखरे बगर बजारले पनि आफ्नै लय समातेको छ ।

विकासको क्रमसँगै गाउँगाउँमा सडक खनिन थाले । सडकका कारण बजार बन्न थाल्यो र मानिस गाउँ छाडेर बजारमा सर्न थाले जसका कारण ऐतिहासिक नाका र पुराना बजारको मुहार अहिले देख्न नपाइने भए पनि बेनीबजार अपवादका रूपमा रहेको स्थानीयवासी बताउँछन् । बजारलाई विकेन्द्रित गरिएपछि सुनसान बनेका गाउँ हराभरा भएका छन् । बाँझा छाडिएका जग्गामा खेती हुन थालेको छ । सङ्घीयताको आधार मानिएको विकेन्द्रीकरणको नीतिले गाउँ बजारसंँग जोडिए पनि तिनको मौलिकता र पुख्र्यौली पहिचान हराएकामा बूढापाकाले चिन्ता व्यक्त गरेका छन् ।

पुराना बजार र नाकामध्ये कतिपयलाई नयाँ सडकले छोए त कतिपय छलिए । नयाँ मोटर बाटा खनिए पनि जहाँजहाँ पुराना बजारलाई छोएर गएको छ, त्यस ठाउँमा भने परम्परागत बजारका ठाउँमा झनै विकसित र आधुनिक बजार स्थापित भएका छन् तर जुन नाका र बजार सडकले छुन सकेन, ती विस्थापित भएका छन् । ती ठाउँमा न बजार बसे, न पदमार्ग नै सुरक्षित भए ।

You might also like

Comments are closed.