सिमेन्ट उद्योगीको माग सम्बोधन गर्ने वनमन्त्रीको आश्वासन

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सिमेन्ट उद्योगलाई संरक्षण, प्रोत्साहन र निर्यातमैत्री बनाउन सकारात्मक रहेको बताएका छन् ।

बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक संघका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री यादवले उक्त कुरा बताएका हुन् । साथै नेपालका सिमेन्ट उद्योगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको पनि मन्त्री यादवले बताएका छन् ।

छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावली २०७९ का केही प्रावधानहरुका कारण सिमेन्ट उद्योग संकटमा परेको बताउँदै समयमै सम्बोधन नगरिए अर्बौ लगानी भएको उद्योगहरू संकटमा पर्ने बताए । यसले सिंगो अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।

त्यस्तै नेपाल सिमेन्ट उत्पादक संघका कार्य समिति सदस्य तथा एडभान्स ग्रुपका उपाध्यक्ष राजन झाले प्रावधानहरु संशोधन नहुँदा नेपाली सिमेन्टको मूल्य बढेर जाने र अन्य मुलुकमा निर्यात गर्न नसकिने बताए ।

नेपालमा हाल ६५ वटा स्थापित सिमेन्ट उद्योगहरु रहेका छन् जसमध्ये क्लिङ्करसहित सिमेन्ट उत्पादन गर्ने उद्योगहरु करिब २१ वटा र ग्राईण्डिङ्ग गरी सिमेन्ट उत्पादन गर्ने उद्योगहरु करिब ४४ वटा रहेका छन् । यि उद्योगहरुमा करिब ३० हजार करोड रुपैयाँ लगानी रहेको छ भने, करिब १५ हजार जनाले प्रत्यक्ष र ५० हजार जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् ।

You might also like

Comments are closed.