नेपालको कवाडी बजारमा भारतीय नागरिक

मोरङ । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान संकलन गरिरहेका छन् । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान संकलन गरिरहेका भेटिन्छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्रै दर्जनभन्दा धेरै कवाडी संकलन केन्द्र रहेका छन् । सुनसरी इनरुवाका सञ्जय चौधरीको आरके कवाडी पसलमा ६ कवाडी संकलक रहेका छन् । उक्त कवाडी पसलका व्यवस्थापक भारत विहारकै समी जैसवाल छन्।

संकलकहरुले गाउँसहरका विभिन्न भागबाट संकलन गरी ल्याएको कागज प्रतिकिलो रु २०, धातुजन्य सामान प्रतिकिलो रु ५५, गाडीका पुराना टायर रु दुई सयदेखि पाँच सयसम्म र सिसाको बोतलप्रति ओटा डेढदेखि दुई रुपैयाँसम्ममा खरिद बिक्री गर्छन् ।

यस्ता सामग्री उद्योगमा पुर्‍याएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ। गाउँगाउँमा गएर पुराना सामान संकलन गर्ने व्यक्ति नेपालमा पाउनै मुस्किल भएको जैसवाल बताउछन्।

राम्रो आम्दानी भए पनि यो पेसामा नेपालीको आकर्षण देखिँदैन । भारत विहार घर भएका राकेश जैसवालका अनुसार बिहानैदेखि राम्ररी साइकलमा गाउँ घुम्दा रु दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ। यही पेसाले आफ्नो परिवार चलेको जैसवाल बताउछन् ।

You might also like

Comments are closed.