तनहुँ । मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिको जीविकोपार्जन सहज बनाउन रु ११ लाख बीउ पुँजी सहयोग उपलब्ध गराइएको छ। जिल्लामा ११ वटा स्वाबलम्वन समूहलाई रु ७५ हजारदेखि रु एक लाख २० हजारसम्म बीउ पुँजी सहयोग गरिएको हो ।
तनहुँलगायत १६ जिल्लामा मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर काम गर्दै आएको कोसिस संस्थाका परियोजना जिल्ला संयोजक महेन्द्र आचार्यले बीउ पुँजी उपलब्ध गराएको जानकारी दिए। तनहुँमा सन् २०१५ देखि सुरु गरी २०२३ डिसेम्बरसम्म काम गर्नेगरी उक्त संस्थासँग सम्झौता भएको बताइएको छ ।
मानसिक स्वास्थ्यलाई प्राथामिक स्वास्थ्य सेवा गर्दै आएको कोसिस तनहुँले मानसिक समस्या भएका एक हजार व्यक्तिलाई पहिचान गरी निःशुल्क सेवा प्रदान गरेको छ। गत वर्ष उनीहरूको निःशुल्क औषधि उपचार गरी स्वास्थ्यमा सुधार आएपछि यस वर्ष मनोपरामर्श सेवा प्रदान गर्दै आएको सो संस्थाले जनाएको छ ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिप्रति हुने सामाजिक अवरोध हटाउन समुदाय सचेतीकरण एवं सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त संस्थाले गोरखा, लमजुड, गोरखा र कास्की गरी चार जिल्लामा मानसिक समस्यामा रहेका व्यक्ति र समुदायमा काम गर्दै आएको छ।
जिल्लाका ३१ वटा सामुदायिक विद्यालय छनोट गरी विद्यार्थी, अभिभावक, शिक्षकलगायतका गरी करिब चार हजार जनालाई मनोपरामर्श सेवा प्रदान गर्दै आएको मनोविद् सीता भण्डारीले जानकारी दिइन्।
त्यसैगरी भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका गरी २६ जना स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान गरी आधारभूत स्वास्थ्य सुविधा प्रदान गर्ने विषयमा तीन दिनको तालिम प्रदान गरेको उनले बताए ।
Comments are closed.