बाँकेमा गुणस्तरहीन सिलिण्डर बिक्री गर्न रोक

काठमाडौं । बाँकेमा बजार अनुगमन समितिले प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ । संयुक्त बजार अनुगमन समितिले दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको हो ।

कार्यलयका अनुसारभेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार सिलिण्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब दुई हजार पाँच सय, म्याद सकिन लागेका दुई सय सिलिण्डर बिक्री वितरण नगर्न संयुक्त बजार अनुगमन समितिले निर्देशन दिएको छ ।

पछिल्लोे समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बजार नपठाउन निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बताएको छ ।

त्यसैगरी, जिल्लास्थित मनकामना ग्यास उद्योगमा ग्यास लिकेज टेस्टिङमेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन र म्याद समाप्त भएका एक सय ६० ग्यास सिलिण्डर, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० सिलिण्डर र तत्काल म्याद सकिन लागेका करिब ५० गरी जम्मा दुई सय १० ग्यास सिलिण्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिइएको छ ।

उपभोक्ता हित संरक्षणमा सरोकारवाला सबै सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले बताए । ग्यास सिलिण्डरका विषयमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले सार्वजनिक महत्वको विषयको रिटमा सुनुवाइ गर्दै यसअघि नै सिलिण्डरको तौल, गुणस्तर जाँच गर्ने तथा मापदण्ड पूरा गर्न निर्देशनात्मक आदेश गरेको छ ।

You might also like

Comments are closed.