दमौली । तनहुँ उद्योग वाणिज्य संघले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानमा अष्ट्रेलियामा रहेका तनहुँबासीले २ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कोभिड न्यूनीकरणका लागि संघले खडा गरेको कोषमा अष्ट्रेलियामा रहेका तनहुँबासीले उक्त रकम सहयोग गरेका हुन् । उक्त रकम व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको उपस्थितिमा संंघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
नगरप्रमुख न्यौपानेले संघलाई विश्वास गरी देश तथा विदेशबाट रकम जुट्नु सकारात्मक रहेको भन्दै रकमको सही सदुपयोग गर्न आग्रह गरे । संघका अध्यक्ष श्रेष्ठले संकटको घडीमा प्राप्त भएको रकमको सदुपयोग गर्नेमा प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठले कोभिड सङ्कटको घडीमा व्यवसायीलाई निःशुल्क खोप र स्वास्थ्य मापदण्ड अपनाई व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाइदिन नगरप्रमुखसँग आग्रह गरे ।
संघले खडा गरेको कोषमा केही दिनअघि मात्रै तनहुँ समाज युकेले ८ लाख ८ हजार ६४०रुपैयाँ सहयोग गरेको थियो । संघले खडा गरेको कोषमा करिब २० लाख रुपैयाँ रकम सङ्कलन भएको छ । सोही कोषमा सङ्कलित रकमबाट संघले जिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री वितरण गरिरहेको छ ।
हालसम्म १० लाख रुपैयाँ बराबरको सामग्री वितरण गरिएको संघका प्रथम उपाध्यक्ष इमकुमार मल्लले जानकारी दिए । सङ्घले व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर अस्पताल, पुरनडिही अस्पताल, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री वितरण गरेको छ भने कालीभञ्जन गण (इ) र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
Comments are closed.