२८ दशमलव ९ प्रतिशतले बढे विदेशी पर्यटक

काठमाडौं । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७४१ ले वृद्धि भएको हो ।

गत वर्षको मार्चमा कुल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट सो अवधिमा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ ।

बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७७३ र बेलायतबाट ७ हजार २४१ जना, श्रीलङ्काबाट ५७ सय ४१, जर्मनीबाट ५२ सय ५५, थाइल्याण्डबाट ४३ सय ४५, फ्रान्सबाट ३२ सय ४० र म्यानमारबाट ३१ सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

क्षेत्रीय हिसाबले हेर्दा एसिया (सार्क) बाट ४० हजार ७२७, एसिया (अन्य)बाट २८ हजार ६४८, यू्रोपबाट २७ हजार ५८२, ओसनियाबाट ४७ सय ८० र क्यानडा र अमेरिकाबाट १२ हजार ६१४ जना पर्यटक नेपाल आएका छन् ।

यस वर्षको जनवरीमा ७९ हजार एक सय र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार ७५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमो सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख ४६ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो । रासस

lcci
You might also like

Comments are closed.