हस्तकलाका सामग्री बनाउने एक महिने तालिम सकियो

रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा सञ्चालन भएको एक महिने रेशाजन्य वनस्पतीबाट हस्तकलाका सामाग्री बनाउने तालिम सकिएको छ ।

यहाँका महिलालाई प्राकृतिक रेशाजन्य वनस्पतीको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम दिइएको । रामपुर नगरपालिकाको सहयोगमा महिलाले मकैको खोस्टा, थाकलको पातबाट हाते झोला, टोपी लगायतका विभिन्न सामग्री बनाउने सीप सिकेका छन् । तालिममा नगरपालिकाभित्रका ४० जना महिलाले सीप सिकेका हुन् ।

सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै नगर प्रमुख रमणबहादुर थापाले सिकेका सीपको माध्यमबाट हस्तकलाका सामग्री उत्पादन गर्न आग्रह गरेका छन् । नगर प्रमुख थापाले उत्पादित हस्तकला सामग्री नगरपालिकाले खरिद गरिदिने र उत्पादनको आधारमा अनुदान पनि दिने बताए ।

“सिकेको सिपको सदुपयोग गरेर उत्पादन गर्नुस त्यसको बजारीकरण र खरिद नगरपालिकाले गर्छ ” नगर प्रमुख थापाले भने । नगरपालिकामा हुने विभिन्न कार्यक्रममा स्वागत सम्मान गर्दा मायाको चिनो उपहारको रुपमा प्रदान गर्न स्थानीय उत्पादनलाई प्राथमिकता दिने उनले बताए । स्थानीय स्रोत र साधनको सदुपयोग गरि महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको नगर प्रमुख थापा बताउँछन् ।

jutta mela

उपप्रमुख बालकुमारी थापाले महिलालाई स्वाबलम्बी र उद्यमी बनाउन नगरपालिकाले विभिन्न कार्यक्रममार्फत जोड दिंदै आएको बताइन् । उनले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी दिइन् । गाउँघरमा पाईने मकैको खोस्टा र थाकलको पातबाट पनि आयआर्जन गरी आत्मनिर्भर बनाउन तालिम सञचालन गरिएको नगर उपप्रमुख थापाले बताइन् । तालिममा सिकेका सिपको माध्यमबाट उत्पादित वस्तु नगरपालिकाले खरिद गरी उपप्रमुख कोशेली घरमार्फत खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेकीछिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले हस्तकलाका सामग्री सजावटको लागि प्रयोग हुने भन्दै खाली समयको सदुपयोग गरेर भएपनि उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले खेर गएका मकैको खोस्ट र थाकलको पातको सदुपयोगसंगै आर्थिक लाभ लिन आग्रह गरेका छन् ।

कार्यक्रममा तालिमका प्रशिक्षक डिला सिंजालीले तालिममा सिकेका कुरा व्यवहारमा उतारेर आत्मनिर्भर बन्न अनुरोध गरिन् । सहभागीको तर्फबाट रेखा पौडेल र सुमन खाम्चाले तालिम लाभदायी भएको भन्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा भएको तालिम समापन कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गरेकी हुन् । साथै समापनको अवसरमा सहभागी प्रशिक्षार्थीहरु मध्येबाट उत्कृष्ट ३ जनालाई पुरस्कृत गरिएको छ ।

तालिमको सहजिकरण डिला सिंजाली, माया राना, तारा थारु र सरस्वती चौधरीले गरेका हुन् । रामपुर नगरपालिकाको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाडांैको प्राविधिक सहयोगमा प्राकृतिक रेशाजन्य वनस्पतीको पोस्करबाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको हो ।

You might also like

Comments are closed.