काँक्रेविहार (सुर्खेत) । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष ७ हजार ४ सय जना यार्सा सङ्कलनमा गएका छन् । उनीहरूबाट उक्त रकम सङ्कलन भएको हो ।
गत वर्ष यहाँ यार्सा टिप्न करिब ४ हजार मानिस आएका थिए । उनीहरूबाट रु ८५ लाख राजस्व सङ्कलन भएको थियो । तर यसपटक गत वर्षको तुलनामा यार्सा सङ्कलन र राजस्व दुवै बढेको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।
गत वर्षको तुलनामा यसपटक दोब्बर यार्सा सङ्कलककर्ता पाटन प्रवेश गरेको र राजस्व पनि गत वर्षको तुलनामा झण्डै रु ४१ लाख बढी सङ्कलन भएको उनी बताउँछन् । यार्सा गुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका, २०७३ बमोजिम निकुञ्ज क्षेत्रभित्रका व्यक्तिलाई प्रतिव्यक्ति रु ५ सय र निकुञ्जभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति रु २ हजार र डोल्पाभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति रु ३ हजारका दरले प्रवेश शुल्क उठाएको वरिष्ठ संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।
कुल सङ्कलन भएको राजस्वमध्ये ३० देखि ५० प्रतिशत रकम निकुञ्ज क्षेत्रको सामुदायिक विकासमा खर्च गरिने छ । कार्यालयले यार्सा सङ्कलक र राजस्वको विस्तृत विवरणानुसार डोल्पाको तोइजम क्षेत्रबाट १५ सय यार्सा सङ्कलक पाटन प्रवेश गरेको र त्यहाँबाट रु १५ लाख राजस्व सङ्कलन भएको छ ।
यसैगरी, मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फू क्षेत्रबाट एक सयजना यार्सा सङ्कलक पाटन प्रवेश गर्दा रु एक लाख ९४ हजार, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रको मुख्य कार्यालय क्षेत्रबाट गएका २ हजार ४१ जना यार्सा सङ्कलकबाट रु २९ लाख ७४ हजार ५ सय राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।
डोल्पाको क्षेप्का क्षेत्रबाट गएका ४७३ जना सङ्कलकबाट रु ३ लाख ७९ हजार राजस्व असुली भएको छ । फोक्सुण्डो तालको रिम्मु क्षेत्रबाट एक सय तीनजना सङ्कलक पाटन प्रवेश गरेका र उनीहरूबाट रु एक लाख ७७ हजार राजस्व उठेको छ । डोल्पाको त्रिपुरा क्षेत्रबाट ४५० यार्सा सङ्कलक पाटनतर्फ जाँदा रु २ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ । त्यसैगरी डोल्पाको दोरेन्जपोष्टबाट २७ सय जना यार्सा सङ्कलक पाटन गएका र उनीहरूबाट रु ७० लाख ३७ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
डोल्पाका ३२ स्थानमा यार्सा पाइने गरेको छ । मुगुको तुलनामा डोल्पाबाट बढी राजस्व सङ्कलन हुने गरेको छ । डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न ७ जिल्लाका स्थानीय जाने गरेका छन् ।
मुगुमा यार्सा सङ्कलकबाट ६९ लाख राजस्व
मुगुको कार्मारोङ गाउँपालिकामा यसपटक यार्सा सङ्कलकबाट रु ६९ लाख ५२ हजार ५ सय राजस्व सङ्कलन भएको छ । अझै पनि सङ्कलकहरु आउने क्रम जारी रहेकाले राजस्व रकम बढ्ने छ । गत वर्ष यार्सा सङ्कलकबाट रु ४६ लाख राजस्व सङ्कलन भएको र यसपटक रु ६९ लाख ५२ हजार ५ सय जम्मा भइसकेको गाउँपालिकाले जनाएको छ ।
यार्सा राजस्व सङ्कलन टोली प्रमुख महेशबहादुर मल्लले यार्सा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु २५ सय र जिल्लाभित्रकालाई प्रतिव्यक्ति रु २ हजारका दरले प्रवेश शुल्क लिइएको बताउँछन् । यसपटक यार्साबाट करिब रु ७० लाख राजस्व सङ्कलन हुने अनुमान गरिएको उनले बताए ।
कोराना महामारीका कारण ४ वर्षसम्म यार्साबाट राजस्व उठेको थिएन । गत वर्ष भने रु ४६ लाख राजस्व सङ्कलन भएको थियो । मुगुम कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँके, हाङदाङखोलालगायत सात स्थानबाट यार्सा सङ्कलन हुने गरेको छ । करिब ४५ सय जना यार्सा खोज्न पाटनमा आएको मुगुम कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष च्यावा लामाले प्रतिनिधिलाई बताए । रासस






Comments are closed.