विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्न नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बीच सम्झौता

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार जल तथा मौसम विज्ञान विभागले विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएस मार्फत प्रवाह गर्न टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउनेछ ।

बाढी वा विषम मौसमजन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोन वाहकले प्राप्त गर्न सक्नेछन् । यसअनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, हिमआँधी, तातो हावाको लहर (लु), शितलहर, वायु प्रदूषण, घुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोटन, डडेलो जस्ता विपदको पूर्वसूचना उपलब्ध गराइनेछ ।

यसका लागि टेलिकमले विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्नका लागि पहिले देखि नै ६०० सिम उपलब्ध गराइरहेकोमा अब थप १०० सिम समेत गरी ७०० थान सिम उपलब्ध गराएको छ । यसमा प्रतिमहिना ३०० एमबी डाटा समेत निःशुल्क उपलब्ध छ ।

टेलिकमले २०७३ साल देखि नै यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको र २०७९ साउन १६ गते भएको सम्झौतामा थप बुँदाहरु समेत समावेश गरी सम्झौता नवीकरण गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ देखि निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पु¥याई विपद् जोखिम न्यूनीकरणको लागि योगदान पु¥याएकोमा टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदर पत्रद्वारा सम्मानित गर्दै आएको छ ।

You might also like

Comments are closed.