लण्डन टेक विकमा नास आईटीको सफल सहभागिता

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले विश्वकै ठूलो र प्रभावशाली मध्येको एक प्रविधि प्रदर्शनी लण्डन टेक विकमा आफ्नो सहभागिता सफल भएको घोषणा गरेको छ ।

जुन १० देखि १४ सम्म ओलम्पिया लन्डनमा आयोजित यस प्रदर्शनीमा नास आईटीका १४ सदस्य कम्पनीले भाग लिएका थिए । लन्डन टेक विक २०२४ को केन्द्रीय विषयमा कृत्रिम बुद्धिमत्ता (एआई), डेटा सुरक्षा, ग्रीन इन्नोभेसन र उद्यमशीलता जस्ता महत्वपूर्ण विषय समावेश थिए । युएसएआईडीसँगको सहकार्यमा भएको नास आईटीको सहभागिताले नेपालका कम्पनीलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्न मद्दत गरेको छ ।

सहभागी कम्पनीका एक प्रतिनिधिले भने,“लन्डन टेक विक २०२४ मा सहभागी भएर ग्लोबल आईटी मार्केटको अध्ययन र अवलोकन गर्ने अवसर पायौं” उनीहरूले यस्ता कार्यक्रमले नेपाली कम्पनीको आत्मविश्वास बढाउने र तिनीहरूको प्राविधिक विकास, बजार व्यवस्थापन र बिक्रीका लागि सहयोग पुर्याउनेमा जोड दिएका छन् ।

लन्डन टेक विकले नेपाली कम्पनीलाई आफ्नो आईटी उत्पादन र सेवाहरू विश्वव्यापी दर्शक माझ प्रदर्शन गर्ने महत्वपूर्ण प्लात्फर्म प्रदान गरेको छ । यस प्रदर्शनीले अन्तर्राष्ट्रिय आईटी जगतमा नेपालको प्रतिष्ठा बढाउनुको साथै व्यापार र सहकार्यको अवसर पनि सिर्जना गर्दछ । नेपाललाई ग्लोबल टेक हबको रुपमा चिनाउन हरेक वर्ष यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिने नास आईटीको योजना रहेको छ ।

जुन १२ मा लन्डनस्थित नेपाली दूतावासले नास आईटी प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय अतिथि र प्रवासी समुदायलाई विशेष अन्तक्र्रिया कार्यक्रमको लागि स्वागत गरेका थिए । यस कार्यक्रमबाट नास आईटीले नेपालको आईटी उद्योगको प्रगति र सम्भावनाको जानकारी दिदैं अन्तर्राष्ट्रिय र प्रवासी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेको छ ।

वेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले आईटी उद्योगको प्रवर्द्धनका निम्ति नेपाल र वेलायत बीचको सहकार्य एकदम महत्त्वपूर्ण रहेको बताएका छन् । १४ सदस्य कम्पनीका प्रतिनिधि लन्डनमा भएको अवसरको उपयोग गर्दै जुन १४ मा नास आईटीले नेपाली प्रवासी समुदायका आईटी विज्ञ, उद्यमी र लगानीकर्तालाई लक्षित गरी नेपालको आईटी क्षेत्रको भविष्यबारे छलफल गर्न एक समारोहको आयोजना पनि गरेका थिए ।

नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य सहित स्थापना भएको आईटी कम्पनीको गैरनाफामूलक छाता संस्था हो । स्थापनाकालदेखि नै संस्थाले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवप्रवर्तन, सशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पैरवीमा काम गर्दै आएको छ ।

You might also like

Comments are closed.