एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् । आइतबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडः रोजगारीको अवस्था र आगामी सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

महाप्रबन्धक भट्टराईले भने, ‘एक सहकारी एक गोदाम हुनुपर्छ । हाम्रो किसानहरुले उत्पादन गरेको वस्तुहरु राख्ने ठाउँ छैन । यसले गर्दा पनि उनीहरुले विचौलियाहरुलाइ तुरुन्तै बिक्री गर्नु पर्ने बाध्यता रहेको छ ।’ त्यस्तै उनले सरकारले एक पालिका एक कृषि बजार बनाउनुपर्ने उनले माग राखे । ‘कृषि क्षेत्रमा बजारको पनि अभाव रहेको छ । सरकारले एक पालिका एक कृषि बजार बनाउनु पर्छ । यसो गर्न सकिएमा हाम्रा उत्पादनहरुले बजार खोज्दै भौतारिनुपर्ने थिएन ।’

सरकारले जबसम्म मल र स्तरिय बिउको व्यवस्था नगरेसम्म उत्पादन बढाउन नसकिने उनले बताए । ‘हाम्रामा उत्पादन भएका वस्तुहरुको समर्थन मूल्य तोक्नका लागि ढिला गर्ने गरिएको छ । उत्पादनको समर्थन मूल्य बाली लगाउनु पहिले तोक्नु पर्छ । समर्थन मूल्य अगाडी नै तोकेमा किसानहरुले उत्पादन गर्न जोड दिन्छन्’, उनले भने ।

सहकारी मर्जरमा जानुपर्ने विषयमा उनले असन्तुष्ट जनाए । उनले भने, ‘एकातिर सहकारीलाई मर्जरमा लैजाने भनिएको छ । भएका सहकारीलाई राम्रा बनाउनुपर्छ । किन मर्जरमा जोड दिनपर्यो । संख्या घटाउँदैमा राम्रो हुन्छ भन्ने होइन । भएका सहकारीलाई व्यवस्थित बनाउनुपर्छ ।’ करिब दुई हजारको हाराहारीमा अहिले पनि साना किसान सहकारीले स्थापना गरेको उद्योगमा जागिरको रुपमा काम गरिरहेको उनले जानकारी दिए । आगामी दिनमा यस्तोे संख्या थप बढाउँदै लैजाने योजना रहेको उनले सुनाए ।

रोजगारी सिर्जनाका लागि आगामी योजना सुनाउँदै उनले औपचारिक, अनौपचारिक, प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताए । यसका साथै उनले कृषिमा डिजिटलाइजेसन र पारिवारिक खेती गर्ने किसानको पहिचान र प्रर्वद्धन गर्न ध्यान दिनुपर्ने बताए । साथै सरकारले सहकारी क्षेत्रमा रोजगारी दिने जुन लक्ष्य लिएको छ, यसमा सहकारीले सहयोग गर्ने उनले बताए ।

 

 

 

You might also like

Comments are closed.