काठमाडौं । नेपाली बजारमा नयाँ ईभी भ्यान थपिएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्सले सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यानको गत मंगलबार लन्च गरेको छ ।
सोकोन चीनका अधिकारीको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा वृद्धि कमर्सियल भेइकलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता र महानायक राजेश हमालले संयुक्त रूपमा सोकोन ईसी थर्टी सिक्सका पहिलो ४१ जना ग्राहकलाई चाबी हस्तान्तरण गरेका हुन् । सोकोन ईसी थर्टी थ्री भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
सो ११ सिटे ईभी यात्रु भ्यानले ३०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ । यसको शक्तिशाली ६० किलोवाटको ईलेक्ट्रिक मोटर २०० एनएम टर्क उत्पन्न गर्न सक्षम छ भने अधिकतम ग्रेडेबिलिटी ४० प्रतिशत रहेको छ । यसमा जडान गरिएको ४२ किलोवाट आवरको सीएटीएल ब्याट्रीले १.३ घण्टामा २० देखि ८० प्रतिशतसम्म र २.५ घण्टामा ० देखि १०० प्रतिशतसम्म छिटो चार्ज गर्ने क्षमता राख्छ ।
१८८ एमएमको ग्राउण्ड क्लियरेन्सले यसलाई नेपाली सडकको लागि उपयुक्त बनाउँछ । यसका साथै भ्यानमा एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेरा जस्ता सुरक्षाका सुविधा पनि रहेका छन् । यसमा सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिङ प्रणालीको सुविधा पनि उपलब्ध भएको कम्पनीले बताएको छ ।
भ्यानमा प्रयोग गर्न अति सजिलो टचस्क्रिन मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । एमएडब्ल्युु ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णुकुमार अग्रवालले गुणस्तरीय अटोमोबाइल मात्र नभई सर्भिस र स्पेयर पार्ट्सलाई पनि प्राथमिकता दिएको र ग्राहकको आवश्यकतालाई प्राथमिकता दिँदै उनीहरुको भरोसा जित्ने कुरामा विश्वस्त भएको बताए । उनले सोकोनसँग साझेदारी गरी नेपाली बजारमा ईसी थर्टी सिक्स लन्च गर्न पाउँदा गर्व लागेको बताउँदै यो सफल हुने र ग्राहकको आवश्यकतालाई यसले पूरा गर्ने बताउँछन् ।
एमएडब्ल्यु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले सोकोन ईसी थर्टी सिक्सका ४१ भ्यानहरू प्रस्तुत भएको बताएका छन् । उनले यस ऐतिहासिक क्षणमा उत्साहित भएको बताउँदै एमएडब्ल्यु वृद्धि उच्चस्तरीय सेवा, गुणस्तरीय स्पेयर पार्ट्स र ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राख्ने आफ्नो प्राथमिकतामा सधैं अटल भएको बताएका छन् ।






Comments are closed.