काठमाडौं । गृह मन्त्रालयले आजदेखि हालै लोकसेवा आयोग पास गरेर आएका नयाँ अधिकृतहरुलाई अध्यागमन विभाग कार्यालयमा पठाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा ४५ जना नयाँ शाखा अधिकृतलाई खटाइएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिए ।
हालै लोकसेवा आयोग पास गरी आएका शाखा अधिकृतहरूलाई मन्त्रालयले विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको हो । अध्यागमन विभागका महानिर्देशक रिजालका अनुसार सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएका छन् ।
लोकसेवा आयोगबाट हालै पास गरेर आएका अधिकृतहरुलाई ३ दिने तालिम दिएर सोमबारदेखि अध्यागमन कार्यालयमा खटाइएको छ । कार्यालय प्रमुखका रूपमा आएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसकेका छन् । विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन् ।
केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । त्यसैगरी गृहमन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही सङ्ख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ । विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ ।
Comments are closed.