पेट्रोलियम पदार्थको बिक्रीबाट घाटा हुने निगमको प्रक्षेपण

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको छ ।

मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १ सय २५ र पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४२ रुपैयाँ पुगेको छ । यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रुपैयाँ पुगेको थियो । इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग सस्तोमा पेट्रोलियम पदार्थ किनेर निगमले उपभोक्तासँग चर्को मूल्य लिएको भन्दै आलोचाना हुने गरे पनि इन्धनको मूल्य उच्च हुनुमा करको हिस्सा बलियो रहेको छ ।

पेट्रोलियम पदार्थमा सरकारले उच्च कर लिने गरेको छ । आइओसीबाट यही फेब्रुअरी १ तारिखका दिन प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलको खरिद मूल्य प्रतिलिटर ८४ रुपैयाँ ३२ पैसा, डिजेल प्रतिलिटर ८५ रुपैयाँ ४२ पैसा, मट्टितेल प्रतिलिटर ७९ रुपैयाँ १० पैसा, हवाई इन्धन (आन्तरिक र बाह्य) प्रतिलिटर ८० रुपैयाँ ९४ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ५ सय २२ रुपैयाँ ४९ पैसा पर्छ ।

खरिद मूल्यमा सरकारी राजस्व र मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक र बिक्री खर्च (बीमासहित), प्राविधिक नोक्सानी, ढुवानी, बिक्रेता कसिमन जोडेर बिक्री मूल्य तय हुने गरेको निगमले जनाएको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४१ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ३२ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा र बाह्यमा १२ रुपैयाँ ६३ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ७३ रुपैयाँ ९४ पैसा कर लिने गरेको छ ।

निगमले प्रशासनिक एवं बिक्री खर्च र प्राविधिक नोक्सानीबापत पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ७७ पैसा, डिजेलमा १ रुपैयाँ ३४ पैसा, मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ २८ पैसा, हवाई इन्धनमा एक रुपैयाँ २३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ ६३ पैसा लिने गरेको छ ।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ११ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ८४ पैसा र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ ८९ पैसा ढुवानी भाडा लाग्ने निगमले जनाएको छ । बिक्रेताले पेट्रोल बिक्री बारेबापत प्रतिलिटर ५ रुपैयाँ ५५ पैसा, डिजेलको प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा र मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ ३४ पैसा र ग्यास कम्पनीले प्रतिसिलिण्डर ३२८ रुपैयाँ २ पैसा मुनाफा पाउँछन् । हवाई इन्धन निगम आफैँले बिक्री गर्ने भएर त्यसमा छुट्टै नाफा राखिएको छैन ।

खरिद मूल्य, कर, प्रशासनिक तथा बिक्री खर्च, प्राविधिक नोक्सानी, ढुवानी र बिक्रेता कमिसन सबै जोड्दा बिक्री मूल्य भन्दा बढी हुन आउने र सोही रकम घाटाका रुपमा थपिँदै गएको निगमको भनाइ छ । लागतमूल्य भन्दा बिक्री मूल्य कम हुँदा पेट्रोलियम पदार्थको बिक्रीबाट लगातार नोक्सानी बढ्दै गएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमले उपलब्ध गराएको विवरण अनुसार खरिद मूल्यदेखि सबै खर्च जोडेर पेट्रोलको लागत मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ २३ पैसा, डिजेलको प्रतिलिटर १ सय ३६ रुपैयाँ १३ पैसा, मट्टितेल प्रतिलिटर १ सय ६ रुपैयाँ ८८ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १ सय ५ रुपैयाँ ५० पैसा र बाह्य ९७ रुपैयाँ ६८ पैसा तथा एलपी ग्यासको लागतमूल्य प्रतिसिलिण्डर दुई हजार १ सय ३५ रुपैयाँ ८ पैसा पर्न जान्छ । मूल्य बढेपछि पनि अहिले निमगलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा, डिजेलमा ११ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५ सय ६० रुपैयाँ ९ पैसा घाटा छ भने मट्टिलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिट १० रुपैयाँ ५० पैसा र बाह्यमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा छ ।

आगामी १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट दुई अर्ब २३ करोड ५३ लाख रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ । १५ दिनमा पेट्रोलको बिक्रीबाट ४२ करोड ९६ लाख, डिजेलको बिक्रीबाट एक अर्ब एक करोड चार लाख रुपैयाँ र एलपी ग्यासको बिक्रीबाट ९९ करोड ५६ लाख रुपैयाँ घाटा हुने निगमको आँकलन छ ।

जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा चर्को कर लगाइएको भन्दै आलोचनासमेत हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि कोरोना महामारीका कारण नागरिक आर्थिक चपेटामा परेका बेला राज्यले पेट्रोलियम पदार्थमा लिँदै आएको कर घटाउनुपर्ने अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना पेट्रोलियम पदार्थको मूल्य बढेर जनता समस्यामा परेकाले त्यसमा लाग्दै आएको कर घटाएर नागरिकलाई राहत दिइनुपर्ने बताउँछन् ।

lcci
You might also like

Comments are closed.