पोखरा । नेपाली यूवा उद्यमी मञ्च (एनवाईईएफ) पोखराले लखपति योजनालाई निरन्तरता दिएको छ । जस अन्तर्गत मञ्चले आमा एग्रो प्रोडक्ट प्रा.लि.लाई उद्यमशीलता प्रवद्र्धनका लागि २ लाख रुपैया सहयोग गरेको छ । मञ्चले बुधबार आमा एग्रो प्रोडक्ट प्रा.लि.लाई सो रकम हस्तान्तरण गरेको हो ।
बुधबार पोखरामा आयोजित एक कार्यक्रममा मञ्चका अध्यक्ष पुनित वैद्यले आमा एग्रो प्रोडक्टकी अध्यक्ष गीता विष्टलाई रकम हस्तान्तरण गरे । संस्थाको लखपति योजना कार्यक्रम अन्तर्गत सो रकम प्रदान गरिएको अध्यक्ष वैद्यले जानकारी दिए । आमा एग्रो प्रोडक्टमा सहभागी महिला उद्यमीहरुको प्रवद्र्धनका लागि उक्त रकम सहयोग गरिएको र पछि फिर्ता गर्ने गरी हस्तान्त्रण गरिएको वैद्यले जानकारी दिए ।
एनवाईईएफ पोखराले युवा उद्यमीलाई प्रोत्साहन र प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको संस्थाका सचिव तथा कार्यक्रम संयोजक निरन केसीले बताए । पहाडी तथा हिमाली क्षेत्रमा उत्पादन हुने गहुँ, मकै, साग लगायतका खाद्य सामग्रीको बजारीकरणमा आमा एग्रोले गरेको उद्यमशिलतालाई थप प्रवद्र्धन गर्न मञ्चको सहयोगले टेवा उनको विश्वास छ ।
मञ्चले यस अगाडि पनि यो योजना अन्तर्गत केही युवाहरुलाई नगद सहयोग गरेको थियो ।







Comments are closed.