काठमाडौं । कूटनीति अब उच्च स्तरीय राजनीतिक संवाद, द्विपक्षीय भ्रमण र दुई देशबीच हुने औपचारिक सन्धि रसम्झौतामा मात्र सीमित छैन । स्वास्थ्य सेवामार्फत नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउँदै देशहरूबीच विश्वास, सद्भाव र सहकार्य विस्तार गर्ने ‘स्वास्थ्य कूटनीति’को अवधारणा विश्वव्यापी रूपमा प्रभावकारी बन्दै गएको छ । नेपालका सन्दर्भमा आँखा स्वास्थ्य सेवा यसको बलियो माध्यम बन्न सक्ने सम्भावना देखिएको छ ।
पछिल्ला केही दशकमा नेपालले आँखा उपचारका क्षेत्रमा हासिल गरेको विशेषज्ञता, दक्ष जनशक्ति, आधुनिक उपचार प्रविधि, गुणस्तरीय सेवा र तुलनात्मक रूपमा सहज उपचार खर्चले अन्तरराष्ट्रियस्तरमा विश्वास आर्जन गरेको छ ।
यही विश्वासका कारण भारत, बङ्गलादेशलगायत विभिन्न मुलुकबाट बर्सेनि ठूलो सङ्ख्यामा बिरामी आँखाको परीक्षण, उपचार तथा शल्यक्रियाका लागि नेपाल आउने गरेका छन् । सीमापारबाट उपचारका लागि हुने यस्तो आवागमनले नेपाललाई गुणस्तरीय आँखा उपचारको गन्तव्यका रूपमा स्थापित गर्न मात्र होइन, स्वास्थ्य पर्यटनमार्फत विदेशी मुद्रा आर्जन र अन्तरराष्ट्रिय सम्बन्धलाई जनस्तरसम्म सुदृढ गर्ने अवसर सिर्जना गरेको छ ।
यस अर्थमा नेपालको आँखा स्वास्थ्य सेवा केवल उपचारमा सीमित विषय होइन । उपचारपछि दृष्टि फर्काएर स्वदेश फर्किने विदेशी नागरिकले नेपालबाट स्वास्थ्य सेवासँगै विश्वास, सद्भाव र सकारात्मक अनुभव पनि लिएर जान्छन् । यही मानवीय सम्बन्धले आँखा स्वास्थ्यलाई नेपालको ‘सफ्टपावर’का रूपमा विकास गर्दै स्वास्थ्य कूटनीति र ‘स्वास्थ्य पर्यटन’लाई सँगसँगै अघि बढाउने बलियो आधार तयार गर्न सक्छ ।
कम्बोडियामा दृष्टिसँगै मित्रताको नयाँ अध्याय
हालै कम्बोडियाको कम्पोङ चामप्रान्तमा आयोजित निःशुल्क आँखा उपचार शिविर स्वास्थ्य कूटनीतिको एउटा उदाहरण बनेको छ । नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, थाइल्यान्डस्थित नेपाली राजदूतावास ९कम्बोडिया हेर्ने० र स्थानीय निकायको सहकार्यमा आयोजित शिविरबाट एक हजारभन्दा बढी कम्बोडियाली नागरिक लाभान्वित भए ।
शिविरले आँखा उपचार मात्र गरेन, नेपालको आँखा स्वास्थ्य विशेषज्ञतालाई कम्बोडियाको उच्च सरकारी तहसम्म परिचित गरायो । कम्बोडियाको विदेश तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयकी स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले नेपालको आँखा उपचार सेवा तथा शिक्षाको उच्च प्रशंसा गरेकी छन् ।
थाइल्यान्डका लागि नेपाली राजदूत तथा कम्बोडियाका लागि गैरआवासीय राजदूत धनबहादुर ओलीसँगको भेटमा उनले कम्पोङ चाममा असार २० र २१ गते आयोजित निःशुल्क आँखा उपचार शिविरबाट कम्बोडियाली नागरिक लाभान्वित भएको उल्लेख गर्दै नेपालप्रति प्रशंसा व्यक्त गरेकी थिइन् ।
यो प्रशंसा एउटा स्वास्थ्य शिविरको सफलतामा मात्र सीमित छैन । नेपाली विशेषज्ञले प्रदान गरेको सेवा जब विदेशी नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ र त्यसले सम्बन्धित देशको उच्च सरकारी तहबाट समेत मान्यता पाउँछ, स्वास्थ्य सेवा कूटनीतिक सम्बन्ध निर्माणको प्रभावकारी माध्यम बन्न पुग्छ । एउटा नेपाली चिकित्सकले विदेशी भूमिमा कसैको दृष्टि फर्काउँदा एउटा आँखाको मात्र उपचार हुँदैन, नेपालप्रति विश्वास र सद्भावको नयाँ दृष्टि पनि निर्माण हुन्छ ।
बङ्गलादेश र ओमानमा पनि स्वास्थ्यमार्फत सम्बन्ध
नेपाल नेत्रज्योति सङ्घले बङ्गलादेशमा सञ्चालन गरेका आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रमले पनि दुई देशबीचको जनस्तरीय सम्बन्धलाई थप बलियो बनाउन सहयोग पु¥याएका छन् । सङ्घले बङ्गलादेशमा आँखा शिविर तथा विशिष्टीकृत उपचार सेवामार्फत दुई देशबीचको स्वास्थ्य सहकार्यलाई निरन्तर विस्तार गर्दै आएको छ । सङ्घले यसअघि बङ्गलादेशको लालमनिहाटमा सर्वसाधारणलाई लक्षित गरी आँखा स्वास्थ्य शिविर सञ्चालन गर्दै नेपाली विशेषज्ञमार्फत आँखा परीक्षण, उपचार तथा आवश्यक सेवा प्रदान गरिसकेको छ ।
त्यस्तै, बङ्गलादेशको विद्यार्थी आन्दोलनका क्रममा आँखामा गम्भीर चोट लागेका बिरामीको उपचारका लागि ढाकास्थित नेसनल इन्स्टिच्यूट अफ अप्थाल्मोलोजीको विशेष निमन्त्रणामा सङ्घअन्तर्गतको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानतथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाका कर्निया सर्जन एसोसिएट प्रोफेसर डा सुशीला पटेल र भिट्रो–रेटिना सर्जन डा सविता ढकाल बङ्गलादेश पुगेका थिए । उनीहरूले आँखाको नानी तथा पर्दा च्यातिएका, गहिरो चोट तथा रक्तस्राव भएकालगायत जटिल समस्या भएका बिरामीको उपचार तथा शल्यक्रिया गरेका थिए ।
सर्वसाधारणका लागि आँखा शिविरदेखि सङ्कटका बेला विशिष्टीकृत उपचारका लागि नेपाली विशेषज्ञ परिचालनसम्मको यो सहकार्यले नेपालको आँखा उपचार सेवाप्रतिको अन्तरराष्ट्रिय विश्वासलाई मात्र देखाउने नभई मानवीय सेवा र विशेषज्ञतामार्फत जनस्तर तथा संस्थागत सम्बन्धलाई बलियो बनाउने स्वास्थ्य कूटनीतिको प्रभावकारी उदाहरणसमेत प्रस्तुत गरेको छ ।
त्यस्तै, ओमानमा नेपाली दूतावास र स्थानीय साझेदारसँगको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमार्फत प्रवासी नेपालीलाई आँखा परीक्षण, चस्मा वितरण, मधुमेह तथा रक्तचाप परीक्षण र स्वास्थ्य परामर्श उपलब्ध गराइएको थियो । बङ्गलादेशमा सर्वसाधारणदेखि जटिल उपचार आवश्यक परेका बिरामीसम्म र ओमानमा प्रवासी नेपालीसम्म पुगेको यस्तो सेवाले नेपालको आँखा स्वास्थ्य विशेषज्ञता सीमापार मानवीय सहयोग, विश्वास र दीर्घकालीन सम्बन्ध निर्माण गर्ने प्रभावकारी माध्यम बन्न सक्ने देखाएको छ ।
यस्ता कार्यक्रममार्फत नेपाली विशेषज्ञको अनुभव आदानप्रदान, स्थानीय नागरिकलाई आँखा उपचार सेवा र स्वास्थ्य संस्थाहरूबीच सहकार्यको अवसर सिर्जना भएको छ । कूटनीतिक सम्बन्ध सरकारी बैठक र सम्झौताबाट मात्र होइन, नागरिकको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने कार्यक्रमबाट अझ गहिरो बन्न सक्छ ।
नेपाल नेत्रज्योति सङ्घको अन्तरराष्ट्रिय आँखा स्वास्थ्य सेवा बङ्गलादेश, कम्बोडिया र ओमानमा मात्र सीमित छैन । सङ्घले केही अफ्रिकी मुलुकमा शल्यक्रियासहितका आँखा उपचार कार्यक्रम सञ्चालन गर्नुका साथै म्यान्मा र टिमोर–लेस्ते ९पूर्वी टिमोर० लगायतका देशमा आँखा स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्यकर्मी परिचालन गरी सेवा प्रदान गरेको छ । यस्ता अन्तरराष्ट्रिय पहलले नेपालको आँखा स्वास्थ्यसम्बन्धी विशेषज्ञता र अनुभवलाई विश्व समुदायसम्म विस्तार गर्दै स्वास्थ्य सेवामार्फत आपसी विश्वास, सहकार्य र स्वास्थ्य कूटनीति प्रवद्र्धन गर्न योगदान पु¥याएका छन्।
नेपालको ‘सफ्ट पावर’ बन्न सक्छ आँखा स्वास्थ्य
नेपालसँग ठूला राष्ट्रजस्तो विशाल आर्थिक वा सामरिक शक्ति नहुन सक्छ तर कुनै देशको अन्तरराष्ट्रिय प्रभाव आर्थिक वा सैन्य शक्तिले निर्धारण हुँदैन । विशिष्ट ज्ञान, दक्षता, मानवीय सेवा र विश्वसनीयता पनि प्रभावकारी ‘सफ्ट पावर’ बन्न सक्छन् ।
आँखा स्वास्थ्य नेपालका लागि त्यस्तै क्षेत्र हो । समुदायमा आधारित आँखा स्वास्थ्य सेवा, मोतियाविन्दु उपचार, दुर्गम क्षेत्रमा सेवाको पहुँच विस्तार र रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणमा नेपालले हासिल गरेको अनुभव अन्य विकासशील मुलुकका लागि उपयोगी हुन सक्छ ।
यसलाई योजनाबद्ध रूपमा विदेश नीतिसँग जोड्न सके नेपाल स्वास्थ्य सहायता प्राप्त गर्ने देश मात्र नभई स्वास्थ्य ज्ञान, विशेषज्ञता र सेवा प्रदान गर्ने साझेदार राष्ट्रका रूपमा स्थापित हुन सक्छ । कम्बोडियाको उच्च सरकारी तहबाट नेपालको आँखा उपचार सेवा र शिक्षाको प्रशंसा हुनुले यही सम्भावनालाई थप बलियो बनाएको छ ।
शिविरबाट दीर्घकालीन साझेदारीतर्फ
अब अन्तरराष्ट्रिय आँखा शिविरलाई एकपटकको सेवामा मात्र सीमित नराखी दीर्घकालीन स्वास्थ्य साझेदारीसँग जोड्न आवश्यक छ । परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, विदेशस्थित नेपाली दूतावास र नेपाल नेत्रज्योति सङ्घबीच समन्वय गरी दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, खाडी तथा आवश्यकताका आधारमा अन्य मुलुकमा स्वास्थ्य कूटनीतिका कार्यक्रम विस्तार गर्न सकिन्छ ।
आँखा शिविरलाई प्रवेशविन्दु बनाएर विदेशी स्वास्थ्यकर्मीलाई तालिम, अस्पताल–अस्पताल सहकार्य, टेलिअफ्थाल्मोलोजी, संयुक्त अनुसन्धान र प्राविधिक ज्ञान आदान–प्रदानमा विस्तार गर्न सकिन्छ । नेपालमा विदेशी चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि तालिम र अध्ययन कार्यक्रम सञ्चालन गरेर नेपाललाई क्षेत्रीय आँखा स्वास्थ्य ज्ञान तथा तालिम केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।
यसमा विदेशस्थित नेपाली दूतावासहरूले महत्वपूर्ण सेतुको भूमिका खेल्न सक्छन् । स्थानीय सरकार र स्वास्थ्य संस्थाको आवश्यकता पहिचान गरी नेपालका विशेषज्ञ संस्थासँग जोड्न सके एउटा स्वास्थ्य शिविर दीर्घकालीन द्विपक्षीय सम्बन्धको आधार बन्न सक्छ ।
‘हिमालको देश’सँगै ‘दृष्टि दिने देश’
विश्वमा नेपालको पहिचान सगरमाथा, बुद्ध, संस्कृति र पर्यटनसँग जोडिएको छ । अब त्यसमा अर्को परिचय थप्ने अवसर छ, गुणस्तरीय आँखा स्वास्थ्य सेवाको अनुभव विश्वसँग बाँड्ने देश ।
कम्बोडियामा नेपाली सेवाप्रति व्यक्त भएको उच्चस्तरीय प्रशंसा, बङ्गलादेशमा स्वास्थ्य सेवामार्फत विस्तार भएको जनस्तरीय सम्बन्ध र ओमानमा प्रवासी नेपालीसम्म पुगेको स्वास्थ्य सहयोगलाई एउटै रणनीतिक दृष्टिकोणबाट हेर्दा नेपालको स्वास्थ्य कूटनीतिको ठूलो सम्भावना देखिन्छ ।
नेपाल नेत्रज्योति सङ्घसँग रहेको चार दशकभन्दा लामो अनुभव, दक्ष जनशक्ति र व्यापक सेवा सञ्जाललाई नेपालको विदेश नीति र अन्तरराष्ट्रिय सहकार्यसँग योजनाबद्ध रूपमा जोड्न सके आँखा स्वास्थ्य नेपालको प्रभावकारी ‘सफ्ट पावर’ बन्न सक्छ । दृष्टि फर्काउने एउटा उपचारले एक व्यक्तिको संसार उज्यालो बनाउँछ । तर त्यही सेवा सीमापार पुगेर विश्वास, सद्भाव र मित्रता निर्माण गर्छ भने त्यो केवलउपचार रहँदैन, कूटनीतिक सम्बन्ध जोड्ने माध्यम बन्छ ।
(लेखक डा.मिश्र नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक एवं इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी) को नेपालअध्यक्ष समेत हुनुहुन्छ । )



Comments are closed.