सरकार समक्ष एनवाईईएफद्वारा ‘स्टार्ट अप हब’का लागि सहकार्यको प्रस्ताव

पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखराले ‘स्टार्ट अप हब’का लागि गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । एनवाईईएफ पोखराको नेतृत्वले गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापालाई भेटेर ‘स्टार्ट अप हब’का लागि सहकार्य गर्ने प्रस्ताव गरेको हो । कार्यक्रममा एनवाईईएफ पोखराका अध्यक्ष सुनिलबहादुर भट्टराईले मन्त्री थापालाई ज्ञापन पत्र बुझाएका थिए ।

एनवाईईएफ नेतृत्वले प्रदेश सरकारले पोखरा महानगरपालिका वडा नम्बर १८ सहीदपार्क नजिकै निर्माण गर्न लागेको ‘सूचना तथा प्रविधि पार्क’ (आइटी पार्क) भित्र ‘स्टार्ट अप हब’ निर्माण गर्नका लागि सहकार्य गर्न आफूहरु तयार रहेको भन्दै मन्त्री थापालाई ज्ञापन पत्र बुझाएको एनवाईईएफ पोखराका अध्यक्ष भट्टराईले जानकारी दिए । ‘स्टार्ट अप हब’का लागि नीति, नियम, कानून निर्माण गर्नुका साथै त्यसको सञ्चालनमासमेत सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी गराएको उनले बताए ।

नया उद्यमी उत्पादन गर्न ‘स्टार्ट अप हब’ आवश्यक रहेको एनवाईईएफले जनाएको छ । नया योजना लिएर कोहि उद्योग सञ्चालन गर्न आएको खण्डमा उसलाई काउन्सिलिङ दिनेदेखि योजना कार्यान्वयन गर्नेसम्म सघाउने, सफल उद्योगीसँग अन्र्तक्रिया गराएर थप मोटिभेट गर्ने, लगानी नभएकाहरुलाई लगानीकर्ता भेट्टाई दिनेलगायतका काम ‘स्टार्ट अप हब’मा गरिने अध्यक्ष भट्टराईले स्पष्ट पारे ।

जवाफमा मन्त्री थापाले आइटी पार्क निर्माण गर्ने कामको शुरुवात भएको भन्दै अब त्यहाँ ‘स्टार्ट अप हब’का लागि के कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा छलफल गरेर अगाडि बढ्ने बताएका थिए । एनवाईईएफको प्रस्ताव सकारात्मक रहेकाले सरकार सहकार्यका लागि तयार रहेको उनको भनाई थियो ।

एनवाईईएफले अर्थतन्त्र चलायमान बनाउन माग गर्दै त्यसका लागि उद्योगी÷व्यवसायीलाई चाँडो भन्दा चाँडो खोपको व्यवस्था गर्न माग गरेको छ । उसले उद्योगी÷व्यवसायीलाई फ्रण्टलाइनर नराख्नुका साथै उनीहरुलाई खोपको व्यवस्था नगर्नु दुर्भाग्य भएको टिप्पणी गरेको छ । साथै आगामी दिनमा छुट्टै खोपको कोटा छुट्याएर खोपको व्यवस्था गर्न एनवाईईएफले माग गरेको अध्यक्ष भट्टराईले बताए ।

You might also like

Comments are closed.