धानको मूल्य बढ्दा किसानलाई राहत, उपभोक्ता मारमा

काठमाडौं। नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले राहत पाएको बताएका छन्। नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै भए पनि राहत पाएका हुन्।

भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल रु तीन सयसम्मले बढेको छ। धानको मूल्य बढेसँगै प्रतिकेजी रु ४८ मा पाइने सोना मन्सुली चामलको मूल्य अहिले केजीको रु ५८ पुगेको छ।

त्यस्तै रु ५० किलोमा पाइने मन्सुली चामलको मूल्य रु ६४ र पहिले रु ६८ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले रु ८० पुगेको छ। धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेस प्रदेशका किसान धानको उचित नपाउँदा मारमा पर्दै आएका थिए। तर यसपालि भने मूल्य बढ्दा केही भएपनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३० लालपर्साका किसान सीताराम प्रसादले बताए । धानको उत्पादनमा लाग्ने खर्चभन्दा बिक्री गर्ने रकम जहिले पनि कम नै हुने गरेको भए पनि यसपालि भने थोरै भए पनि खुसी भएको उनले बताए ।

धानको मूल्य वृद्धि हुँदा एकातिर किसानले खुसी व्यक्त गरेका छन् भने अर्कोतर्फ चामलका उपभोक्ताले भने मारमा परेको बताएका छन्। धानमा प्रतिक्विन्टल रु तीन सयसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो रु १५ देखि रु २५ सम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छन्। भारतले नेपालका लागि चालु आर्थिक वर्षमा छ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो। धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् ।

अझ पनि नेपाल धान चामलका लागि ५० देखि ६० प्रतिशत भारततर्फ नै निर्भर रहेको उनको भनार्इ छ। नेपाली बजारमा पनि भारततर्फकै धान चामलको समर्थन मूल्यले ठाउँ लिँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ। नेपाली बजारमा गत वर्ष यही सिजनमा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार आठ सय थियो भने हाल बढेर रु तीन हजार एक सय पुगेको छ ।

त्यही धानको मूल्य भारतमा रु तीन हजार दुई सय ५० रहेको अर्थात् नेपालको धान चामलको मूल्य पनि भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको गुप्ताको भनाइ छ। चालु आवको साउनदेखि पुस मसान्तसम्म भारतबाट वीरगञ्ज नाका हुँदै १९ हजार आठ सय एक मेट्रिक टन अर्थात् रु एक अर्ब ५० करोड ५५ लाख बराबरको चामल आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा छ। रासस

You might also like

Comments are closed.