धान बिक्री गर्न किसानको भीड

धनुषा । सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ ।

मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन वितरण गर्ने भएपछि धान बिक्री गर्न किसानको भीड बढेर गएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बूले चालु आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १५ हजार क्विन्टलमात्रै धान खरिद गर्ने जानकारी दिए । तर गत आव २०७७/७८ मा यस कम्पनीमा १६ हजार क्विन्टल धान खरिद गरेको थियो ।

कम्पनीले अहिले दुई हजार ९ सय रुपैयाँका दरले प्रतिक्विन्टल धान खरिद गर्दैछ भने निजीस्तरको उद्योगमा प्रतिक्विन्टल दुई हजार २ सय रुपैयाँ देखि दुई हजार ४ सय रुपैयाँ सम्मको दर मात्र दिने भएपछि किसानले आफ्नो धान कम्पनीमा बेच्नका लागि तछाडमछाड गरेका छन् ।

jutta mela

यता कम्पनीले सीमित परिमाणमा धान खरिद गर्ने भएपछि किसानबीच आफ्नो धान बेच्नका लागि हौसिएका छन् । कम्पनीका प्रमुख लिम्बूले भने, “निजीस्तरभन्दा कम्पनीको धानको मूल्य बढी भएको र कम्पनीले सीमित धान मात्रै खरिद गर्ने जानकारी भएपछि टोकन लिन किसानबीच तछाडमछाड भएको छ ।” उनले सबै किसानको धान बिक्री गर्ने मौका उपलब्ध हुने उद्देश्यले कम्पनीले यस वर्षप्रति किसानको बढीमा ४० क्विन्टलका दरले खरिद गर्ने नीति लिएको जानकारी दिए । तर यसरी अुनपातमा कम्पनीले धान खरिद गर्ने भएपछि धनुषाका ३ सय ५० किसानले मात्रै कम्पनीलाई धान बेच्न सक्ने भएकाले टोकन लिनका लागि अहिले किसानबीच व्यापक भीड बढेको हो ।

प्रमुख लिम्बूले भीड नियन्त्रण गर्न कार्यालय व्यवस्थापनलाई हम्मेहम्मे परेको बताए । उनले बुधबार भीड नियन्त्रण गर्नका लागि प्रहरी बोलाउनुपरेको बताए । उनले प्रहरी आउन ढिलो भएपछि करिब एक घण्टासम्म कार्यालय परिसर अस्तव्यस्त बनेको बताए ।

अहिले कोरोना सङ्क्रमण फैलिरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अवस्था रहेको तर किसानले आफ्नो धान छिटो बेच्नका छिटोभन्दा छिटो टोकन लिने प्रयास गर्दा भीड अनियन्त्रित भई होहल्ला हुने गरेको छ । बुधबारसम्ममा जिल्लाका २ सय किसानले टोकन लिइसकेको कार्यालय प्रमुख लिम्बूले बताए ।

लक्ष्मीनियाँ गाउँपालिकाका किसान लक्ष्मेश्वर यादवले निजीस्तरका उद्योगी व्यापारीभन्दा यसपटक सरकारले धान खरिद गर्ने मूल्य केही बढाइदिएकाले किसानलाई ठूलो राहत भएको बताए । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीको धानमा मिसावट हुने भएको हुँदा प्रत्यक्षरूपमा किसानसँग धान खरिद गर्दा मिसावट नहुने भएकाले बजारको भन्दा बढी मूल्य निर्धारण गरेर किसानलाई हौसला प्रदान गरिएको जनाएको छ ।

यद्यपि सीमित स्रोतका आधारमा ३ सय ५० बाहेकका किसानका लागि यस वर्ष पनि कुनै व्यवस्था गर्न नसकिने कार्यालयले जनाएको छ । गोदामको अभाव, व्यवस्थापन गर्न नसकिने भएकाले कार्यालयले लक्ष्यअनुसारको धानमात्रै खरिद गर्ने गरेको प्रमुख लिम्बूले बताए ।

You might also like

Comments are closed.