धानमा राते रोग लागेपछि कृषक चिन्तित

कावासोती । धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो ।

रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन् । रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए । “सुरुमा मल पाइएन हामीले पनि मल नपुगेर होला भन्यौँ”, लम्सालले भने, “अहिले बोट नै रातो हुँदै गइरहेको छ । मुख्य बाली धान नोक्सान भएको छ ।” कावासोती नगरपालिका–१६ का २४ कृषकको करिब एक सय १३ बिघाभन्दा धेरै धान खेतमा यो रोग देखिएपछि क्षतिपूर्तिका लागि वडा कार्यालयमार्फत नगरपालिकामा माग गरेका कृषक लक्ष्मण विकले बताए ।

रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ । किसानले धान रोपेको दुई महिना बित्न लाग्दासमेत मलसमेत पाएनन् । अरू सेवा त परै जाओस् किनेर मल हाल्नसमेत नपाउँदा उत्पादन गत वर्षभन्दा कम हुने कृषकले अनुमान गर्न थालेका छन् । करिब १८ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा धान खेती गरिएकामध्ये अधिकांश क्षेत्रका धान खेतमा राते रोग देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका प्रमुख मीरा चौधरीले बताए । धानमा लागेको राते रोगका कारण यस वर्षको धानको उत्पादन पनि घटने प्रमुख चौधरीले बताए ।

प्रमुख चौधरीका अनुसार धानले समयमा मल नपाउँदा सेतो झिङ्गाले आक्रमण गरेको कारणले यो रोग लागेको हो । सेतो झिङ्गाले धानका पातलाई चुस्दै जाँदा धानको बोट नै पहेलो हुँदै गएको चौधरी बताउछन् । धान पहेँलो हुँदै गएपछि कृषकले युरिया डिएपीलगायत मल प्रयोग गर्दा सेतो झिगाँलाई चुस्न झन सहज हुने भएकाले धानको बोट रातो देखिएपछि रासायनिक मल प्रयोग गर्न नहुने उनको भनाइ थियो । बोट रातो देखिएपछि युरिया डिएपी जस्ता मल प्रयोग गर्दा बोट पोटिलो भएर आउने र झिंगालाई पात चुस्न झन सहज हुने हुँदा कृषि प्राविधिकको सल्लाहअनुसार मल तथा औषधि प्रयोग गर्नुपर्ने चौधरी बताउछन् । धान खेतमा देखिएको यो रोगको तत्कालको रोकथाम भनेको डाइमेथिएट विषादी चार लिटर पानीमा एक मिलिलिटरको दरले मिसाएर धानको पात र बोट भिज्ने गरी छर्किनुपर्ने चौधरीले बताए ।

औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको जनाइएको छ । कति क्षेत्रमा रोगले असर पारेको त्यसको विवरण सङ्कलन भइरहेको र कृषि प्राविधिक कृषकका खेतमा पठाएर रोग नियन्त्रणको प्रयास भइरहेको चौधरीले बताए ।

You might also like

Comments are closed.