बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा

हुमाकान्त पोखरेल, तम्घास । गुल्मीको रुरुक्षेत्र गाउँपालिका– ५ बम्घा टाहाटिमका मेघराज गिरीले दश रोपनी जग्गामा आलु लगाएको छन् । आलु खेती उनको पुख्र्यौली पेशा हो । गतवर्ष उनले ६० क्विन्टल आलु बिक्री गरे । जसबाट डेढ लाख आम्दानी भयो ।

“उत्पादन भएको आलु पैँचो पसल, बुटबल र तराइका जिल्लामा बिक्री हुन्छ”, उनले भने, “यो वर्ष उत्पादन घटेर ४५ क्विन्टल हुने अनुमान छ ।” टाहाटिमको जग्गा पनि आलु खेतीलाई उपयुक्त भएकोले पुख्र्यौली पेशालाई निरन्तरता दिएको उनी बताउँछन् । अहिलेको मौसममा आलु लगाए पनि अरु बेला मौसम अनुसारका तरकारी खेती लगाउने उनले यसबाट वार्षिक ५० हजार आम्दानी गर्छन् । त्यस्तै उनले गाईपालन पनि गरेका छन् । जसबाट परिवारलाई पुग्ने आम्दानी गाउँमै भएको उनी बताउँछन् ।

“अहिले आलु, त्यसपछि तरकारी र १२ महिना दूध बिक्रीबाट आम्दानी भइरहेको छ”, उनले भने, “आफ्नै गाउँमा स्वरोजगार भएको छु ।” अहिले आलु खेतीको लागि स्मार्ट कृषि गाउँ आलुखेती कार्यक्रम सञ्चालन भएको छ । जसबाट बीउ तथा मेसिनमा अनुदान पाउँदा उहाँको हौसला बढेको छ ।

सोही ठाउँकै राधिका गिरीले पाँच रोपनी जग्गामा आलु लगाएर गत वर्ष १५ क्विन्टल बिक्री गरिन् । उत्पादन भएको आलु पैँचो पसलमा प्रति किलो रु २० देखि ३७ सम्ममा बिक्री हुन्छ । अन्य समयमा सोही जग्गामा सिमी, गोलभेँडा, काउलीलगायतका मौसमअनुसारका तरकारी लगाइन्छ । यसले घरखर्च चलाउन सहयोग पुगेको उनको भनाइ छ ।

“आलु र तरकारी खेतीले घरखर्च चलेको छ”, उनले भनिन्, “अहिले खनेको आलु सबै बीउको लागि प्रयोग हुन्छ ।” गतवर्ष आलुको बीउ प्रतिकिलो १ सय ८० रूपैयाँ परेकोमा अहिले स्मार्ट कृषि गाउँ लागू भएपछि अनुदानले गर्दा ७० देखि ८० रूपैयाँमा पाइएको थियो ।

 

You might also like

Comments are closed.