दुर्गा देवकोटा, टीकापुर । कैलालीको जानकी गाउँपालिकाले कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरीलाई मोबाइलबाट परामर्श दिन थालेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सेवा लिन जान डराएका गर्भवतीको अवस्था बुझ्ने र उनीहरुको हौसला बढाउन मोबाइल सेवा दिइरहेको हो ।
गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामार्फत् गर्भवतीलाई टेलिफोनबाट परामर्श दिने, उनीहरुको मनोबल बढाउने काम थालेको हो । ‘‘गर्भवती तथा सुत्केरीको स्वास्थ्यमा आउने परिवर्तन, जटिलताबारे जानकारी लिन स्वयम्सेविकाले फोन गर्ने गरेका छन्’’, स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले भने, ‘‘गर्भावस्था र सुत्केरी अवस्थामा आउने मानसिक तथा शारीरिक परिवर्तनले उनीहरुको मनोबल कमजोर हुने, गलत विचार आउने, डराउने हुन्छ । यस्तो बेला स्वास्थ्य संस्था आउन नसकेका, स्वास्थ्यकर्मी भेट्न डराएकाहरु स्वयम्सेविकासँग खुलेर कुरा गर्लान् भनी सक्रिय गराएका छौँ ।’’
गाउँपालिकामा सय जना महिला स्वास्थ्य स्वयम्सेविका रहेका छन् । पालिकाले यसअघि नै मेडिक मोबाइल कार्यक्रमअन्र्तगत स्वमय सेविकालाई मोबाइल उपलब्ध गराएको छ । ‘‘स्वयम्सेविकाले यसअघि पनि काम गरिरहेकी थिइन् तर कोरोना महामारीको समयमा मोबाइल सेवा थप प्रभावकारी भएको छ’’, स्वास्थ्य संयोजक चौधरीले भने, ‘‘यतिखेर स्वयम्सेविकाले गर्भवती र सुत्केरीको स्वास्थ्य सङ्कटमा पर्नबाट जोगाउन समुदायमा राम्रो काम गरको छ ।’’
परामर्श सेवापछि गर्भवतीले आफूलाई परेको समस्याबारे स्वास्थ्यकर्मीसँग समेत फोनबाटै सल्लाह लिन थालेका छन् । महिला स्वास्थ्य स्वयम्सेविका गङ्गा थापा कुँवरले यतिखेर आफ्नो टोलमा रहेका गर्भवतीलाई नियमित टेलिफोन सेवा दिइरहेकी न्छि । थापाले टेलिफोनमा सल्लाह दिने मात्र होइन, उनीहरुको खानपान, परिवारका सदस्यलाई पोषणबारे ज्ञान दिने काम समेत गरिरहेको बताइन् । ‘‘मेरो टोलमा मात्रै पाँच गर्भवती छन्, मैले परिवारका सदस्यलाई उनीहरुको खानपान र आरामबारे पनि सिकाइरहेकी छु’’, थापा भन्छिन्, ‘‘गर्भवती स्वास्थ्य संस्था जान डराएकाले अनिवार्य नियमित आइरन र क्लाल्सियम खान लगाउने, पहिलो र अन्तिम गर्भ जाँचका लागि अनिवार्य स्वास्थ्य संस्था जान सल्लाह दिने, समस्या भए स्वास्थ्यकर्मीको फोन नं. दिने जस्ता कार्य गरेकी छु ।’’
जानकी—३ की स्वयम्सेविका चन्द्रा साउदले पनि समुदायमा रहेका गर्भवतीलाई गर्भावस्थामा आउने परिवर्तन, स्वास्थ्य समस्याबारे जानकारी दिने गरेकी छिन् । ‘‘गर्भावस्थामा देखिन सक्ने खतराका लक्षणहरु, खोपको जानकारी, कस्तो अवस्थामा स्वास्थ्य संस्था जाने जस्ता सल्लाह दिन थालेका छौँ’’, साउद भन्छिन्, ‘‘गर्भवती र तिनका परिवारका सदस्यहरु पनि सामान्य समस्या भए हामीलाई फोन गर्ने गर्छन् ।’’
पालिकाले स्वास्थ्यका अत्यावश्यक सेवालाई निरन्तरता दिएको छ । गाउँपालिकाको स्वास्थ्य संंस्थाबाट गर्भवतीलाई नियमित सेवा दिने गरेको भए पनि स्वास्थ्य संस्था आउन डराउने भएकाले मोबाइल सेवा थप प्रभावकारी बनाएको हो । पालिकाले फोनबाटै दिने सेवाले आफूहरुलाई सजिलो भएको जानकी—६ की संगीता विकले बताइन् । ‘‘म ६ महिनाकी गर्भवती छु, पहिलो गर्भजाँचपछि दोस्रो गर्भजाँचको मिति आएकाले कसरी स्वास्थ्य संस्था जाने भनी डराएकी थिएँ’’, संगीताले भनिन्, ‘‘स्वयमसेविका दिदीको फोन आयो, समस्या भए स्वास्थ्य संस्था जान नभए खानपानमा ध्यान दिन आग्रह गरिन् । म घरमै नियमित खानपानमा ध्यान दिएर बसेकी छु ।’’
जानकीसँगै जोडिएको कैलालीको टीकापुर नगरपालिकाले पनि यतिखेर मेडिक मोबाइल सेवालाई थप प्रभावकारी बनाएको छ । टीकापुरमा पनि दुई वर्षदेखि यो कार्यक्रम सञ्चालनमा छ । महामारीको यो समयमा स्वयम्सेविकाको यो सेवा थप प्रभावकारी भएको छ । पालिकामा कोरोनाको दोस्रो भेरियन्टपछि १५९ जना कोरोना सङ्क्रमित भएका छन् । जसमा हाल सक्रीय सङ्क्रमित ४९ जना रहेका छन् । पालिकामा एक, महिला र पाँच पुरुष गरी छ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिकामा भने २५८ जना सङ्क्रमित पुगेका छन् । तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या १२७ छ । टीकापुरमा कोरोना सङ्क्रमणकै कारण २८ जनाको मृत्यु भएको छ ।
Comments are closed.