स्व. पत्रकार बानियाँको स्मृति अक्षयकोषमा सहयोग

तनहुँ । नेपाली कांग्रेसका युवा नेता श्याम मौरतीले नेपाल प्रेस युनियन तनहुँले स्थापना गरेको पत्रकार बलराम बानियाँ स्मृति पत्रकारिता अक्षयकोषमा रकम हस्तान्तरण गरेका छन् । पत्रकार बानियाँको वार्षिक पुण्यतिथिमा आज नेता मौरतीले १० हजार १ सय ५० रुपैयाँ नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई दमौलीमा हस्तान्तरणगरेका हुन् ।

सो अवसरमा मौरतीले कर्मचारीतन्त्रमा मौलाएको भनसुन, बेथिति, विकृति भ्रष्ट्राचारका विरुद्ध तथा सुशासनको पक्षमा पत्रकार बानियाँ लेखेर कहिल्यै नथाक्ने व्यक्ति रहेको स्मरण गरे । नेता मौरतीले समाचार लेखेका कारण मानसिक तनाव बानियाँले भोग्न बाध्य भएको बताए । बानियाँ निर्भीक पत्रकार भएको उल्लेख गर्दै मौरतीले अक्षयकोषले भावी पुस्तालाई उनले पु¥याएको योगदानको बारेमा जानकारी लिन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट रकम सङ्कलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने कार्य गरिरहेको छ । पत्रकार बानियाँका दाइ भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत ३ गते युनियनलाई रु २० हजार नगद हस्तान्तरण गरेका थिए ।

बानियाँ कान्तिपुर दैनिकमा सहायक सम्पादक थिए । बानियाँको शव विसं २०७७ साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा फेला परेको थियो । बानियाँ दुई दशकभन्दा पहिलादेखि पत्रकारितामा सक्रिय थिए । पत्रकार बानियाँ भानु नगरपालिका–१३ मिर्लुङमा विसं २०२७ मा जन्मिएका थिए ।

You might also like

Comments are closed.