काठमाडौं । वाइन पारखीलाई लक्षित गरी नेपालको पूर्वी जिल्ला धनकुटामा माउण्ट एभरेष्ट वाइनरी उद्योग सञ्चालनमा आएको छ । उद्योगले किवीको वाइन उत्पादन सुरु गरेको छ । उद्योगले ‘प्रिन्सेस’ ब्राण्डबाट वाइनलाई नेपाली बजारमा ल्याउँदैछ ।
यही साताबाट वाइन नेपाली बजारमा बिक्री सुरु हुने उद्योगले जनाएको छ । राजधानी काठमाडौंबाट वाइन बिक्री सुरु हुने उद्योगका प्रवन्ध निर्देशक विष्णुप्रसाद बास्तोलाले आर्थिक आवाजलाई जानकारी दिए । ‘दुई महिनाभित्र वाइन देशभरको बजारमा पुग्छ,’ उनले भने ।
धनकुटाको राजारानीमा रहेको उद्योगमा करिब २० करोड रुपैयाँ लगानी भएको छ । १० रोपनी जग्गामा उद्योग सञ्चालनमा आएको बास्तोलाले जानकारी दिए । नेपाली बजारमा पहिलो पटक किवीबाट वाइन उत्पादन सुरु गर्न सफल भएको अध्यक्ष हरेराम शाहले बताए । ‘किवी र अन्य फलफूलको प्रयोगबाट प्रिन्सेस वाइन उत्पादन हुन्छ,’ शाहले भने ।
नेपाली बजारमा पाइने अन्य वाइनभन्दा प्रिन्सेस वाइन फरक स्वादमा उपलब्ध हुने रिजनल मेनेजर भुपाल प्रसाद ढकाल बताउँछन् । ‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने । उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ । उद्योगमा करिब २ सय जनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको बताइएको छ ।
किवी लगायतका फलफूलका लागि उद्योगले किसानहरुसँग सहकार्य गरेको प्रवन्ध निर्देशक बास्तोलाले जानकारी दिए । ‘उद्योग आफैले पनि किवी खेतीमा लगानी गरेको छ,’ उनले भने । वाइनरी क्षेत्रमा संगालेको लामो अनुभव र देशविदेशका तालिमबाट प्राप्त गरेको विज्ञताका कारणले आफूहरुले उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल हुने बास्तोला बताउँछन् ।
Comments are closed.