संरक्षणका अभावमा राज रङ्गशाला प्रयोगविहीन

राजविराज । सप्तरीको राजविराजस्थित राजरङ्गशाला संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ । पछिल्लो समय रङ्गशालाको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ भने प्रवेशद्वारसमेत खुला रहेकाले रङ्गशाला बटुवाहरुको खुला शौच गर्नेस्थल बनेको छ । भएका संरचना समेत जीर्ण हुँदै गएपछि अहिले रङशाला गौचरणमा परिणत भएको छ । रङ्गशालाको पूर्वी भागको प्याराफिटमुनि करिब २० विपन्न परिवारले बारेर कोठा बनाई प्रयोग गर्दै आएका छन् ।

स्थानीय स्तरका विभिन्न खेलकूद प्रतियोगिताको आयोजना हुँदै आएको यो रङ्गशाला औद्योगिक मेला र राजनीतिक दलको सभा गर्ने स्थलको रुपमा समेत विकास हुन थालेको छ । तर यसको मर्मत, सम्भार र सुरक्षातर्फ सम्बन्धीत निकायले चासो देखाउन सकेको छैन् । सात हजार दर्शक अटाउने क्षमता भएको प्याराफिटसमेत जीर्ण हुँदा कसैको ध्यान नगएको सप्तरी क्रिकेट सङ्घका अध्यक्ष आयुष श्रेष्ठले बताए ।

राजरंगशालाको जिर्ण प्याराफिटको तलो भागमा करिब दुई दर्जन परिवार बसोबास गरेको हुनाले राष्ट्रिय स्तरको खेलकुद गर्न पनि समस्या हुने गरेको सप्तरी क्रिकेट संघका अध्यक्ष श्रेष्ठको भनाई छ । अहिले रङ्शाला खेलाडीले खेल खेल्ने नभई गाई बस्तु चराउने र घाँस काट्ने स्थानका रुपमा परिणत भएको उनको भनाइ छ । राजविराज नगरपालिकाले २१ वर्ष अघि नै जिल्ला खेलकूद विकास समितिलाई यसको स्वामित्व हस्तान्तरण गरिसकेको भएपनि समितिले यसको मर्मतसम्भार र संरक्षण गर्न नसकेको आरोप नगरवासीको छ । रङ्शालाको अतिक्रमित स्थान पनि समितिले खाली गराउन कुनै पहल नगरेको बताइएको छ ।

समितिका कार्यालय प्रमुख दिनेश भुजेलले रङ्शालाको अतिक्रमित स्थान र प्याराफिटमुनी बस्दै आएकाहरुलाई खाली गराउन पटक पटक सूचना जारी गरेपनि नटेरेको बताए । जीर्ण अवस्थामा पुगेको प्याराफिट भत्केर कुनै बेलापनि ठूलो दुर्घटना हुन सक्ने भन्दै पटक पटक त्यहाँको बस्ती खाली गराउन जादाँ दुर्घटना भए हामी आफैँ जिम्मेवार हुनेछौं भनेर त्यहाँका बासिन्दाले जबाव फर्काउने गरेको उनको भनाइ छ ।

२०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पालामा निर्माण भएको राजरङ्गशाला मुलुककै पुराना रंगशालामध्ये मानिन्छ । दुई विगहा ७ कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको रङ्गशालामा कूल ७ हजार दर्शकको क्षमता भएको प्याराफिटसमेत रहेको छ । आवश्यक रेखदेख र संरक्षण नहुँदा वर्षायाममा रङ्गशाला जलमग्न हुने गरेका छन् । स्थानीयवासी रामकुमार यादवले भने, “ढल व्यवस्थापन र पानीको निकास नहुँदा वर्षायाममा खेलमैदान पानी नै पानीले भरिएको हुन्छ । तर यसप्रति कसैको ध्यान जानसकेको छैन् ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...