काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि ७ प्रदेशमा नै ‘प्रदेश बिशेष कृषि कर्जा’ कार्यक्रम ल्याएको छ ।
कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजका आधारमा अधिकतम ५ करोड रुपैंयासम्म १ प्रदेश १ विशेष कार्यक्रम अन्तर्गत ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरिएको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
कोशी प्रदेशमा अलैंची, मधेशमा माछा, बाग्मतीमा कुखुरा, गण्डकीमा फलफुल, लुम्बिनीमा पशुपालन, कर्णालीमा जडिबुटी र सुदूरपश्चिममा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिनेछ । आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यस कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ ।
ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहनेछ भने आवश्यकता अनुसार घर तथा जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिनेछ । कर्जाको बीमा गरिनेछ । बैंकको देशैभर रहेका सबै शाखा कार्यालयबाट ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गरिनेछ ।
हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ शाखारहित बैंकिङ सेवा, ७३ एक्स्टेन्सन काउण्टर, क्युआर कोड, पिओएस, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोबाईल बैंकिङ सेवा सञ्चालनमा छन् ।
Comments are closed.