भानुका युवालाई रोटर्याक्ट भानुको नेतृत्व प्रशिक्षण

तनहुँ । रोट¥याक्ट क्लब अफ भानुको आयोजनामा भानु नगरपालिकाका युवाका लागि नेतृत्व विकास प्रशिक्षण सम्पन्न भएको छ ।
हालै स्थापित क्लबले नगर क्षेत्रका सबै वडाका युवालाई लक्षित गर्दै आयोजना गरेको प्रशिक्षणको रोटरी क्लब अफ दमौलीका संस्थापका अध्यक्ष एवं संविधान सभासद रामचन्द्र पोखरेलले उद्घाटन गरे । उनले युवा उमेरले मात्र नहुने भन्दै युवा जोश र जाँगरसँगै नेतृत्व सीप विकास गर्ने अभियानमा क्लबले खेलेको भूमिकाको प्रशंसा गरे । ‘युवाको सकारात्मक योगदानले मात्र मूलुकमा परिवर्तन आएको छ,’ उनले भने,‘युवा क्रियाशिलता नरहे देश बन्न सक्दैन ।’

कार्यक्रमका प्रशिक्षक रोटरी डिष्ट्रिक्टका वरिष्ठ प्रशिक्षक एवं रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष हरिसिं गुरुङले नेतृत्वको सीप युवाका लागि अति आवश्यक भन्दै यसको माध्यमबाट नै युवाले सफलता पाउने बताए ।

प्रशिक्षक श्रृजनशील युवा मञ्च तनहुँका अध्यक्ष एवं दमौली न्युजका सम्पादक पवन पौडेलले युवाको नेतृत्व सीपसँगै बोल्ने कलाले पनि नेतृत्व विकास र सफलतामा गहिरो प्रभाव राख्ने बताए । उनले युवालाई समाजका समस्याको उठान र समाधानका समेत बाटो प्रदान गर्दै नेतृत्व लिन सुझाव दिए ।

रोटर्याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउतले क्लबका गतिविधिले समाजमा धेरै सकारात्मक प्रभाव दिने भन्दै सक्रिय रहन सुझाव दिए ।

अर्का प्रशिक्षक एवं मञ्चका उपाध्यक्ष सुमन श्रेष्ठले हिम्मत नहार्ने र प्रयास गर्न नछाड्ने बानीले मात्र युवालाई सफल बनाउने भन्दै निरन्तर कर्ममा लागिरहन सुझाव दिए ।

क्लबका अध्यक्ष सन्तोष ढकालले भानु नगरपालिकामा पहिलो पटक स्थापना गरेको क्लबले यस क्षेत्रमै पहिलो पटक युवा नेतृत्व विकासका लागि प्रशिक्षण गरेको भन्दै आगामी दिनमा नेतृत्व विकाससँगै सामाजिक अभियानमा अघि बढ्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा भानु २ का वडा सदस्य गणेश ढकाल, क्लबका उपाध्यक्ष अविन परियार, सुदीप केसीलगायतले युवाहरुलाई सकारात्मक बाटोमा लैजान प्रशिक्षण प्रदान गरिएको बताए ।

सहभागीहरु अप्सना मिया , राजिव राउत लगायतले छोटो अवधिमा पनि आफूहरुले नेतृत्व तथा बोल्ने सीप सिक्न सफल भएको भन्दै त्यसलाई व्यवहारमा उतार्ने बताए । भानु २ वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा भानुका नगर क्षेत्रका सबै भागबाट आएका सहभागीलाई स्वास्थ्य मापदण्ड पालना गरेर प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.