क्यारियर कनेक्शन पार्टनर तथा लाभग्राही भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं मिड–टाउनले एडुलिफ्टसँगको सहकार्यमा विशेष ‘क्यारियर कनेक्शन पार्टनर तथा लाभग्राही भेटघाट’ कार्यक्रम गरेको छ ।

लाजिम्पाटस्थित जेभियर्स एकेडेमीमा आयोजना भएको कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं मिड–टाउनका पूर्व अध्यक्ष तथा ‘ग्लोबल ग्रान्ट क्यारियर कनेक्शन’ परियोजनाका सम्पर्क व्यक्ति नीवा एम. प्रधानले स्वागत गर्दै परियोजनाको बारेमा जानकारी गराए ।

एडुलिफ्टका संस्थापक तेनजिन सोनामले क्यारियर कनेक्शन परियोजनाको अवधारणा प्रस्तुत गर्दै नेपालमा युवामाझ विद्यमान सीप अभावको समस्यालाई व्यावसायिक तालिम तथा रोजगारीको माध्यमबाट समाधान गर्ने परियोजनाको उद्देश्यका सन्दर्भमा जानकारी दिए ।

क्यारियर कोच नेपाल प्रमुख कार्यकारी अधिकृत निभा शाक्य, युसेप नेपाल उप–प्रधानाचार्य दिपेन्द्र न्यौपाने, ब्रडवे इन्फोसिस प्रतिनिधि श्रेय मानन्धर, अपस्किल नेपाल प्रतिनिधि अनिरूप घिमिरे र सजिलो सेवा प्रमुख कार्यकारी अधिकृत सुजित रेग्मी लगायतले कार्यान्वयन साझेदारको अनुभव साझेदारी सम्बन्धमा आफ्ना अनुभव राखेका छन् ।

कार्यान्वयन साझेदार, परियोजना लाभग्राही, शिक्षा, निजी क्षेत्र तथा विकास क्षेत्रका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । सजिलो सेवाले सञ्चालन गरेको प्रमाणपत्र कार्यक्रममार्फत इलेक्ट्रिकल तालिम पूरा गरेका स्नातकलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

रोटरी क्लब अफ काठमाडौं मिड–टाउन अध्यक्ष भिम उदास, रोटरी जिल्ला ३२९२ परियोजना संयोजक निर्मल रिजाल र रोटरियन रचना थापाले आफ्ना धारणा राखेको कार्यक्रममा रोटरियन इसाबेल खड्काले धन्यवाद दिएका हुन् । प्रवेश खड्का र कृष्णबहादुर कार्कीले आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा रोटरी जिल्ला ३२९२ टीआरएफ चेयर कुमुद त्रिपाठी र रोट्रयाक्ट जिल्ला ३२९२ टीआरएफ चेयर सुनिल शाही, रोटरी क्लब अफ कार्यक्रममा काठमाडौं मिड–टाउनका पूर्व अध्यक्ष, बोर्ड सदस्य, परियोजना संयोजक तथा क्लबका अन्य सदस्य, रुपीज इन्टरनेशनल स्कुल, सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट, जेभियर्स एकेडेमीका विद्यार्थी, युवा प्रतिनिधि, विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्यमी तथा शुभेच्छुक सहभागी थिए ।

क्यारियर कनेक्शन रोटरी क्लब अफ काठमाडौं मिड–टाउनको ग्लोबल ग्रान्ट परियोजना हो । नेपालमा विद्यमान सीप अभावलाई सम्बोधन गर्नु यसको उद्धेश्य रहेको छ । एडुलिफ्ट तथा अन्य व्यावसायिक तालिम संस्थासँगको सहकार्यमा यस परियोजनाले लक्षित सीप विकास तालिम प्रदान गर्दै वित्तीय रूपमा विपन्न तथा सामुदायिक कलेजका युवालाई रोजगारीको अवसर उपलब्ध गराउँछ ।

You might also like

Comments are closed.

Secret Link