राष्ट्र निर्माण तथा सामाजिक सुधारमा युवाको भुमिका महत्वपूर्ण छः ढकाल

सागर ढकाल

यूवा परिवर्तनका संवाहक हुन् । गुठी, पर्म, भकारी जस्ता परम्परागत आर्थिक क्रियाकलापको विकसित रूप सहकारी अभियानमा तीनै लाखौं युवा सहभागी छौं । सन् २०१० मा युवा तथा खेलकुद मन्त्रालयले विशेष रूपमा युवाहरूको अधिकार र आवश्यकताहरूलाई सम्बोधन गर्न देशको पहिलो राष्ट्रिय युवा नीति स्थापना गर्यो । यो नीतिले युवाको राष्ट्रिय परिभाषा बनाएको छ । नीति र परिभाषा आफैमा महत्वपूर्ण विषय हो, त्यो भन्दा बढी महत्वपूर्ण देशका लाखौं लाख युवालाई राष्ट्र विकासको मूल धारमा सहमाहित गराउने गुरूत्तर दायित्व हो । आजको यस सुखद् अवसरमा उपस्थित सम्पूर्ण सहकारी अभियान्ताहरूलाई त्यो दायित्व बहन गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।

नेपालले युवाहरूको अधिकारलाई उजागर गर्न र आफ्नो नीतिगत सन्दर्भमा युवाहरूमा ध्यान केन्द्रित गर्न ठोस प्रगति गरेको छ । नेपालले इतिहासमै पहिलो पटक जनसांख्यिकीय लाभांशको अनुभव गरिरहेको छ । नेपालको राष्ट्रिय युवा नीति अनुसार हाल नेपालको करिब २ करोड ९२ लाख नागरिकमध्ये करिब २०.८ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका छन् भने ४०.६८ प्रतिशत जनसंख्या १६ देखि ४० वर्ष उमेर समूहका छन् । जहाँ युवाहरू कुनै पनि देशको जनसंख्याको सबैभन्दा ठूलो खण्ड छ, यसलाई ‘जनसंख्या लाभांश’ वा ‘युवा बल्ज’ भनेर परिभाषित गरिएको छ । यो अभुतपूर्व अवसर अहिले हामीसँग छ, जुन विश्वका विरलै देशले प्राप्त गर्दछन् । अबका केही दशक हामीले यसको लाभ उठाउन सकेनौं भने त्यो हाम्रा लागि अपुरणीय क्षति हुनेछ । युवा जनसंख्याको अधिकांश हिस्सा खाडी र मलेसियामा सस्तोमा श्रम बेच्न वाध्य छन् । आफ्ना उर्वर उमेरको श्रम अन्तर्राष्ट्रिय श्रम बजारमा बेचिरहँदा त्यो नेपाली जत्ति दुःखी छ त्यो भन्दा बढी दुःखी नेपाली धर्ती छ ।

नेपालमा हाल प्रत्येक वर्ष करिव ५ लाख श्रमशक्ति रोजगारीको लागि विदेशिदै आएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरू पनि अधिकांश अदक्ष रहेकाले सस्तोमा श्रम बेच्न बाध्य छन् । कोभिड माहामारीले वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्की हजारौं यूवाहरु वेरोजगार भएर बस्नु परेको अवस्था छ । यस परिस्थितिमा मानवीय श्रमलाई सीपयुक्त बनाई उद्यमशिलता वृद्धि गरी अधिकतम रुपमा उपयोग गरेर उत्पादन, आय आर्जन, स्वरोजगारी श्रृजना र त्यसका लागि आवश्यक वातावरण निर्माण गर्न आवश्यक ठानी राष्ट्रिय सहकारी महासंघले सहकारी मार्फत यूवाहरुलाई उद्यमशिलतातर्फ डोराउन राष्ट्रिय युवा गोष्ठीको आयोजना गरेको हो ।

नागरिकलाई उद्यमशील बनाउन सकियो भने उत्पादन तथा रोजगारी वृद्धि गर्न सकिन्छ । उद्यमशीलता विकासको लागि पहिलो कुरा समाजलाई उद्यमशीलतातर्फ उत्प्रेरित गर्नुपर्छ । त्यसपछि राज्य र सहकारी क्षेत्र स्वयंले लगानी र आवश्यक तालिम तथा प्रविधिको व्यवस्था गर्नुपर्छ । राज्यको मूख्य काम उद्यमशीलताका लागि नीतिगत, कानूनी, पूँजी, प्रविधि, शिक्षा तालिम र नवपवर्तमानमा सहजीकरण गर्नु हो । विश्व युवा विकास सूचकमा नेपाल १४५ औं स्थानमा छ । दक्षिण एसियाली देशहरुमा पनि नेपालको युवा सुचक कमजोर छ । नेपालको बेरोजगार युवाशक्ति आर्थिक उत्पादन र सीपसँग जोडिएको छैन । युवाहरुलाइ स्वदेशमै उद्यमशीलता विकासतर्पm आकर्षित गर्न आवश्यक ज्ञान शिप र धारणा दिनुपर्ने आवश्यक्ता छ । यही आवश्यक्तालाइ पूर्ति गर्न तथा यूवाहरुलाई उद्यमशीलतामा तिर्खा जगाउन यस गोष्ठीको आयोजना गरिएको हो । यस युवा उद्यमशीलता गोष्ठीले विशेषत युवाहरुलाई लक्षित गरी स्वरोजगार श्रृजना गर्न प्रेरित गर्दै आम्दानीका थप अवसरहरु सिर्जना गर्न मार्गप्रशस्त गर्नेछ । हामीले यस गोष्ठीमा युवा उद्यमीका सफलताका कथाहरु, विज्ञ व्यक्तित्वहरुका प्रस्तुतीहरु यहाँहरु माझ पस्कीने कार्यतालीका रहेको छ । आशा एवं विश्वास छ सहभागी महानुभावहरुको सक्रिय सहभागिता र अनुभव आदानप्रदानले यो गोष्ठी थप रोचक वन्न जानेछ । यस कार्यक्रमवाट भरपुर लाभ लिनु हुन आयोजकको तर्फवाट हामी हार्दिक अनुरोध गर्दछौं ।

त्यसैले आउनुहोस् सामान्य घरयासी खर्च जुटाउन विदेशमा सस्तोमा श्रम वेच्न वाध्य त्यस्ता यूवाहरूलाई यसरी सहकारी अभियानमा आवद्व गराउने अर्को अभियानमा पनि सँगसँगै जुटौँ । यूवा सहकारी अभियान्ताहरू, परिवर्तनकर्ताको हैसियतमा पुगेर स्थानीय आवश्यकता, स्रोतसाधन र अन्य कुरामा केन्द्रित हुन चाहेका युवा अनुहारहरूले पुरानो नेतृत्व शैलीलाई विस्थापित गरेर आफ्नो ठाउँको विकासको नयाँ बाटो बनाउन चाहेको छन । युवा कुनै पनि देशको ठूलो सम्पत्ति हो भन्ने कुरा सर्वविदितै छ । राष्ट्र निर्माण तथा सामाजिक सुधारमा युवाहरुको भुमिका धेरै महत्वपूर्ण छ । अर्को शब्दमा भन्ने हो भने युवाको बुद्धि र कामले देशलाई सफलताको बाटोमा लैजान्छ । जसरी हरेक नागरिक उत्तिकै जिम्मेवार छन्, युवा पनि उत्तिकै जिम्मेवार छन् । युवाहरू देशको निर्माणका आधार हुन् । नागरिकहरूले हाम्रा युवाहरूलाई हरेक क्षेत्रमा राम्रो गर्न प्रोत्साहित गर्न सुनिश्चित गर्नुपर्छ । जब हामी हाम्रा युवाहरूलाई निरन्तर निरुत्साहित गर्छौं र उनीहरूमा विश्वास गर्दैनौँ, उनिहरूले आफ्नो ज्योति गुमाउनेछन । पखेटामा साङ्ला बाँधेर तल ल्याउनुको सट्टा पखेटा मुनीको हावालाई माथि उड्न दिनु पर्छ भन्ने कुरामा हामी सबैले ध्यान दिनुपर्छ ।

युवा कुनै पनि देशको जनसंख्याको सबैभन्दा गतिशील र महत्त्वपूर्ण खण्ड हो । तथ्याङ्कले देखाउँछ की युवा जनसंख्याको ठूलो संख्या भएका विकासोन्मुख देशहरूले युवाहरूको शिक्षा, स्वास्थ्य र उनीहरूको अधिकारको संरक्षण र ग्यारेन्टी गरेमा देशका सबै क्षेत्रमा अत्याधिक वृद्धि हुन सक्छ । आजका युवा दिमाग र भोलिका नेता, निर्माता, निर्माणकर्ता र आविष्कारक हुने विश्वास गरिन्छ । युवाहरूलाई असल नेता, आविष्कारक र आविष्कारकहरू बन्नको लागि, उनीहरूलाई समर्थन र भविष्य परिवर्तन गर्न राम्रो स्वास्थ्य, तालिम र शिक्षा प्रदान गर्नु महत्त्वपूर्ण छ । युवाले कसैको भरमा नभई काम गरेर कमाउन थालेपछि देशको अर्थतन्त्रमा टेवा पुग्छ । यसका साथै जात, धर्म, लिङ्ग, आदिको भेदभाव नगरी सबैलाई समान अवसर प्रदान गरिनुपर्छ । नातावाद र पक्षपातका विभिन्न मुद्दाहरूले देशको वास्तविक प्रतिभालाई खाँदै गएको छ । यसलाई सकेसम्म चाँडो हटाउनु पर्छ । हामीले यो सुनिश्चित गर्नुपर्दछ की प्रत्येक युवाले आफूलाई योग्य साबित गर्ने मौका पाएको छ र त्यो सबैलाई समान रूपमा प्रदान गर्नुपर्दछ ।

सरकारले बेरोजगारी, गरिब शैक्षिक संस्था र अन्य समस्याहरू विरुद्ध लड्न मद्दत गर्ने कार्यक्रमहरू ल्याउनुपर्छ ताकि उनीहरूलाई कुनै बाधा विना समृद्ध बनाउन सघाउ पुग्छ । लोकतन्त्र, अर्थतन्त्र, प्रविधि र चिकित्सा विज्ञानको सुधार सबै युवाको हातमा छ । गरिबी, बेरोजगारी, ग्लोबल वार्मिङ र धेरै प्रकारका प्रदुषण आज विश्वले सामना गरिरहेको समस्या हो । यी सबै समस्या समाधान गर्ने उत्तरदायित्व आगामी पुस्तामा छ । छोटकरीमा भन्नुपर्दा, हाम्रा युवाहरूमा राष्ट्र निर्माण गर्ने शक्ति छ त्यसैले हामीले उनीहरूलाई अवसर दिनुपर्छ । उनीहरू भविष्य हुन् र उनीहरूसँग दृष्टिकोण छ जुन पुरानो पुस्ताको अभाव छ । उनीहरूको जोश र उत्साहलाई राष्ट्रको समृद्धि को लागि सही तरिकाले चलाउनुपर्दछ ।

युवाहरूसँग आफ्नो मात्र होइन, समुदाय र विश्वलाई नै परिवर्तन गर्ने रचनात्मकता, क्षमता हुन्छ । समाजको विकासमा पूर्ण रूपमा सहभागी हुन, गरिबी र असमानता उन्मूलन गर्न, र शान्तिको संस्कृतिलाई बढावा दिन सहकारी अभियानले कसरी युवा समावेशीता गर्दै अगाडि बढ्ने भन्ने विषयमा युवा सम्मेलनले मागदर्शन गर्ने छ । नेपालमा कुल जनसख्याको एक तिहाई युवा छन् । अब सन् २०३० मा नेपाललाई कहाँ पुयाउने भन्ने विषय आज हामीले युवामा गरेको लगानी र योगदानले भर पर्छ ।

समुदायहरूमा युवा नेतृत्व बृद्धि गर्नका लागि पनि सहकारीको योगदान रहन्छ । जसरी महिला नेतृत्वमा सहकारीको योगदान रहेको छ । यसका लागि युवा सशक्तिकरण, उनीहरुको कार्यलाई प्रोत्साहन र समर्थन गर्ने, साझेदारीलाइ बढवा दिने र युवाहरुको पहिचानको सुनिश्चिता गर्ने उद्देश्यले युवाको भूमिकालाई प्रोत्साहित गर्न यस सम्मेलले योगदान दिने छ । सहकारीले अब युवाहरूको संलग्नतालाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म बृद्धि गर्नुपर्छ ।

धन्यवाद !

(राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित ‘नेशनल युथ फोरम–२०२२’ मा महासंघका सञ्चालक, युवा समन्वय उपसमितिका संयोजक एवं कार्यक्रम संयोजक सागर ढकालले गरेको संवोधन ।)

You might also like

Comments are closed.