भविष्यप्रति आशाको भाव सिर्जना : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न सफल भएको बताए । प्रदेश सरकारको तीन वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा उनले आगामी दिनमा जनताका चाहना बमोजिम कार्यक्रम दुर्गतीमा कार्यान्वयन गर्ने कुरामा जोड दिए ।

उनले विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढिरहेका बेलामा कोरोना भाइरसको महामारीका कारण सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले गएको चैत ११ देखि देशव्यापी रुपमा बन्दाबन्दीको घोषणाले आर्थिक विकासका समग्र गतिविधि र अभियानमा ठूलो गतिरोध उत्पन्न भएको चर्चा गर्दै भौतिक पूर्वाधार विकास निर्माणका काम, शिक्षा, स्वास्थ्य, समाज कल्याणजस्ता सामाजिक विकासका काम, कृषि, उद्योग, पर्यटन जस्ता गतिविधि, सुरक्षा बन्दोबस्तीका तयारी आदि सबै क्षेत्रमा कोभिड–१९का कारण प्रतिकूल परिस्थितिका बाबजुद निकै उत्साहजनक प्रगति हासिल गरेको बताए ।

मुख्यमन्त्री राईले नेपाल सरकारले तय गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षासँग तादात्म्य मिलाउँदै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को प्रादेशिक लक्ष्य निर्धारण गरी आम जनताको समृद्धि र समुन्नतिको आकांक्षालाई आत्मसात गर्दै दृढ सङ्कल्पका साथ अघि बढिरहेको धारणा राखे । सरकार जनमुखी भई चुस्त सेवा प्रवाह गर्न तथा पारदर्शी एवं जवाफदेहितायुक्त सुशासन प्रवद्र्धन गर्दै अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

jutta mela

उनले तीन वर्षको अवधिमा सरकारले स्वच्छतामा करीब आठ प्रतिशत, समुन्नतिमा ४५ प्रतिशत र सुखमा ४७ प्रतिशत कार्यक्रम रहेको जानकारी दिँदै प्रदेश सरकारले ४९ कानून, २४ नियमावली, १० निर्देशिका, २८ कार्यविधि र एक÷एक मापदण्ड र गठन आदेश गरी कूल ११३ कानूनी दस्तावेज तयार गरी संस्थागता आधार तयार गरेको प्रष्ट पारे ।

मुख्यमन्त्री राईले कोरोना जनसुरक्षा कोषमा रु २५ करोड स्थापना गरी सरकारले १० दिनमा कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र निर्माण गरेको उल्लेख गर्दै चीनको स्वशासित राज्य तिब्बतबाट रु १० करोड बराबरको उपचार सामग्रीको सहयोगसहित स्वीस सरकारको उल्लेखीय सहयोग प्राप्त भएको जानकारी दिए । उनले प्रदेशमा स्वदेशी र विदेशी लगानीका लागि प्रदेश लगानी प्राधिकरण गठन गरिएको बताए ।

उनले प्रदेशमा ४५ हजार १८९ जनाको रोजगारी सिर्जना भएको बताउँदै विराटनगरलाई नेपालको पूर्वी हवाई पर्यटकीय द्वारका रुपमा परिणत गर्ने काम भइरहेको जानकारी गराए । खाद्यान्नमा प्रदेश आत्मनिर्भर अवस्थामा रहेको जानकारी दिँदै मुख्यमन्त्री राईले विपद् व्यवस्थापन, सूचना तथा सञ्चार क्षेत्रमा, सिँचाइ विकास, जलउत्पन्न प्रकोप व्यवस्थापन, ऊर्जा विकास, खानेपानी विकास तथा सरसफाइ र सडक यातायातमा सरकार लागि परेको जानकारी दिए । उनले प्रदेश सरकारको तीन वर्ष कार्यकालको अवसरमा सबै प्रदेशवासीलाई शुभकामना पनि दिए ।

You might also like

Comments are closed.