काठमाडौं । स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली खेलकुद क्षेत्रसँग सहकार्य गरेको छ । यसैक्रममा नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजित विशेष साइनिङ समारोहमार्फत राष्ट्रिय महिला फुटबल टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीसँग औपचारिक सम्झौता सम्पन्न गरिएको हो ।
सम्झौताअनुसार राष्ट्रिय टोलीकी फरवार्ड खेलाडी रेखा पौडेल तथा प्रतिभाशाली युवा खेलाडी दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन् भने राष्ट्रिय टोलीसँग आबद्ध खेलाडी मनमाया दमाईलाई एसटीसी इनर्जीको ब्रान्ड एम्बासडर अनुबन्ध गरिएको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी रेखा पौडेल, दीपा शाही र मनमाया दमाईले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबलको उन्नयनमा महत्वपूर्ण योगदान दिइरहेका छन् । अनुभव, उदीयमान प्रतिभा र निरन्तर समर्पणका साथ यी तीनै खेलाडीहरूले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।
श्री एसटीसी ग्रुप नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय छ । कम्पनीका प्रमुख उत्पादनहरू एसटीसी राइड तथा इनर्जी नेपालमा उत्पादित ब्राण्ड हुन् । हेटौंडा औद्योगिक क्षेत्रमा प्लान्ट छ ।
यी ब्याट्रीहरूले उच्च कार्यक्षमता, लामो आयु तथा भरपर्दो प्रदर्शन प्रदान गर्दै आएको कम्पनीकोा दावी छ । विशेषगरी दुई पाँग्रे, चार पाँग्रे तथा ऊर्जा तथा पावर ब्याकअप क्षेत्रमा आफ्नो प्रभाव तथा लोकप्रिय बन्दै गरिरहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए । कम्पनीले खेलकुद क्षेत्र र युवापुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलाडीहरूसँग सहकार्य गरिएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि नेपाली प्रतिभालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।






Comments are closed.