भक्तपुर । सरकारले मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले शुक्रबार थिमिमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले २३ जनालाई लालपूर्जा वितरण गरेका हुन् ।
सरकारले उनीहरुलाई पुनःकित्ता नाप गरी लालपुर्जा वितरण गरेको हो । आफ्नो जग्गा भएर पनि लालपूर्जा नपाएर वषौँदेखि भूमिहीन बनेका नागरिकलाई प्राथमिकता राखेर देशभरि अभियान चलाएको मन्त्री श्रेष्ठले बताइन् । भूमिहीनलाई जग्गा दिने महोत्तरीबाट सुरु गरेको चार महिनाको अभियानमा झण्डै १५ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरिएको उनले जानकारी दिइन् । आगामी एक वर्षभित्र देशभरका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने योजनाका साथ सरकार अगाडि बढेको मन्त्री श्रेष्ठले उल्लेख गरिन् ।
मन्त्री श्रेष्ठले सरकारले सहिद, बेपत्ता परिवार, हलिया, कमैया, कम्लरी, हरुवाचरुवालगायत सिमान्तकृत समुदायका परिवारका लागि यसै सातादेखि नापी तालिमको व्यवस्था गर्दै रोजगारीको व्यवस्था गर्न लागेको बताइन् । सुकुम्बासीलाई जमिन उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न भूमि ऐन लागू गर्ने अन्तिम चरणमा पुगेको उनले उल्लेख गरिन् ।
बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले जनताका पक्षमा अहिलेको सरकारले काम गरिरहेको चर्चा गर्दै यहाँका भूमिहीनले वर्षौंपछि स्वामित्व पाएको बताइन् । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले लिएको अभियानलाई कर्मचारीले सफल पार्नुपर्ने भन्दै लालपूर्जा वितरण कार्यलाई प्रभावकारी बनाइने बताए ।
नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलले भक्तपुरमा ४५६ जनालाई लालपूर्जा वितरण गरिने जानकारी दिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्त, मध्यपुरथिमि नपा–६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिलगायतले धेरै समस्या र अवरोधकाबीच वर्षौंदेखिको प्रयास सफल भएको उल्लेख गरे ।
Comments are closed.