अटोमोबाइल व्यवसायको विकास र बिस्तारका लागि अटो शो महत्वपूर्ण माध्यम हो

सुरेन्द्र कुमार उप्रेती (सुरेश), महासचिव, नाडा

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा १६औं संस्करणको नाडा अटो शो जारी छ । भदौ ११ गते सुरु अटो शो १६ गतेसम्म चल्नेछ । यसैक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश)सँग आर्थिक आवाजले गरेको कुराकानीः

१६औं संस्करणको नाडा अटो शोको उद्घाटन कस्तो भयो ?

नाडाले वर्षेनी आयोजना गर्ने नाडा अटो शो को १६औं संस्करणको उद्घाटन भदौ ११ गते मंगलबार अर्थमन्त्री विष्णु पौडेलले गर्नु भएको छ । अटो शोको उद्घाटन भव्य रुपमा सम्पन्न भएको छ । उद्घाटन कार्यक्रमसँगै अवलोकनकर्ताहरुको उपस्थिति पनि उत्साहजनक रुपमा बढ्न सुरु भइसकेको छ । १६ गतेसम्म नै नाटा अटो शोमा अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहने हामी विश्वस्त छौं ।

नाडाले अटो शो आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

नाडाले वर्षेनी नाडा अटो शो आयोजना गर्दै आइरहेको छ । अटोमोबाइल व्यवसायको विस्तार र प्रवद्र्धनका लागि नाडा अटो शो प्रभावकारी थलो बन्दै आइरहेको छ । समग्रमा नेपालमा अटोमोबाइल व्यवसायको विकास, बिस्तार र प्रवद्र्धन गर्ने लक्ष्य र उद्देश्यसहित नाडा अटो शो हुँदै आइरहेको छ ।

अटो शोबाट व्यवसायीहरु लाभान्वित भइरहेका छन् ?

नेपालमा अटोमोबाइल व्यवसायको प्रवद्र्धन गर्ने मुख्य माध्यम नै नाडा अटो शो बन्दै आइरहेको छ । नेपालकै ठूलो प्रदर्शनी नाडा अटो शो बनेको छ । हजारौं मानिसहरुकोे बीचमा आफ्नो प्रडक्टलाई प्रदर्शनमा राख्न पाउनु नै व्यवसायीहरुका लागि राम्रो अवसर हो । आफ्नो ब्राण्डलाई कसरी चिनाउने र ब्राण्डिङ गर्ने भन्ने व्यवसायीहरुको हातमा हुन्छ । हामीले उहाँहरुका लागि राम्रो प्लेटफम तयार पारेका छौं । अटोमोबाइल व्यवसायको विकास र बिस्तारका लागि यो महत्वपूर्ण थलो हो ।

नाडा अटो शोमा स्टल राख्नका लागि धेरै कम्पनी आकर्षित हुन्छन् । कसरी व्यवस्थित गर्नुहुन्छ ?

नाडा अटो शोको मिति सार्वजनिक भएपछि स्टल बुकिङका लागि विशेष आकर्षण बन्ने गरेको छ । स्टल बुकिङका लागि धेरै कम्पनी आउने गर्छन् । हामीले पहिला आएर बुकिङ गर्नेहरुलाई प्राथमिकतामा राख्दै आइरहेका छौं । यस पटक अटो शोको क्षेत्र विस्तार गरेका छौैं । भृकुटीमण्डपको चौरलाई पनि प्रदर्शनीका लागि थप गरिएकाले यस पटक स्टल र सहभागँी संख्या बढेका छन् । समयमा नै स्टल बुकिङ गर्न आउने कम्पनीहरु स्टल नपाएर फिर्ता जान नपरोस् भनेर हामी संयमित भएका थियौं । जुन उद्देश्यमा सफल भएर सक्दो धेरै कम्पनीलाई सहभागी गराउन सफल भएका छौं ।

अटो शोको क्षेत्र विस्तार गर्नुको कारण आकर्षण बढेर नै हो ?

गत वर्षमा भन्दा यस पटक अटो शो सञ्चालन हुने क्षेत्र विस्तार भएको छ । अटो शोमा दर्शकको आकर्षण बढ्दो क्रममा छ । सहभागी कम्पनीहरुको संख्या पनि बढेकाले क्षेत्रफल विस्तार गरी अटो शोलाई थप विस्तृत रुपमा सञ्चालन गर्दैछौं ।

नाडा अटो शोमा बिगतमा भन्दा पृथक केही हुँदैछ ?

धेरै कम्पनीहरु सहभागी भएका छन् । इभीको नयाँ प्रविधि अध्ययन तथा अवलोकनको लागि अटो शो उपयुक्त स्थान बन्दैछ । अवलोकनकर्ताहरु प्रवेश गर्ने र बाहिरिने गेटलाई व्यवस्थित गरेका छौं । धेरै भेराइटीसँगै आकर्षक छुट नै अवलोकनकर्ताको आकर्षण बनेको छ । बैंकिङ लगानीको बारेमा बुझ्नका लागि बैंकहरुको सहभागिता पनि उत्साहजनक हुँदैछ । सहुलियत ब्याजदरमा कर्जाको अफर बैंकहरुले सार्वजनिक गर्नेछन् । सबै कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्ने गरी आआफ्नो स्टललाई सजाएका छन् । अटो शोमा यस पटक दर्शकको विशेष आकर्षण हुनेमा हामी विश्वस्त छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?

सबै दाजुभाइ दिदी बहिनीहरुलाई म अटो शोमा निमन्त्रणा गर्दछु । अटो शो नेपालमा आयोजना हुने प्रदर्शनी मध्ये सबैभन्दा ठूलो प्रदर्शनी हो । यहाँ आएर अटोमोबाइल क्षेत्रको बारेमा जानकारी लिन र आफूले चढ्न चाहेको सवारी साधनलाई नजिकबाट नियाल्न सकिनेछ । सम्बन्धी कम्पनीका प्रतिनिधिले गाडीको विशेषताहरुका बारेमा सहभागीहरुलाई जानकारी दिनेछन् । यो प्रदर्शनी व्यवसायी र ग्राहक दुवैका लागि लाभदायिक हुनेछ । आर्थिक गतिविधि बढाउँदै व्यवसाय चलायनमान गराउन अटो शो सफल हुनेछ ।

You might also like

Comments are closed.