काठमाडौं । प्रजातान्त्रिक खेमाका पर्यटन व्यवसायीहरुका तर्फबाट ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोलालाई आधिकारिक उम्मेदवार बनाइने भएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक दुई भिन्दाभिन्दै संगठनले टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि व्यवसायी बाँस्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो । नेपाल पर्यटन व्यवसायी संघ (निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले बुधबार संयुक्त कार्यक्रम गरी टानको अध्यक्षमा बाँस्तोलालाई समर्थन गर्ने निर्णय गरेको निट नेपालका अध्यक्ष दीपक महतले जानकारी दिए ।
उनले दुवै शुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहका रूपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको बताए । अध्यक्षका प्रत्यासी बाँस्तोलाले शुभेच्छुक संस्थाबाट आफू टान अध्यक्षको आधिकारिक उम्मेदवार भएकाले व्यावसायिक छलफल र प्रचारप्रसारलाई तीव्रता दिएको बताए । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन टानको अध्यक्ष प्रत्यासीका उम्मेदवार बाँस्तोला अब्बल प्रतिस्पर्धीका रूपमा चुनावी अभियानमा होमिएका छन् ।
पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बाँस्तोलाले टानको नेतृत्वमा पुगेको खण्डमा पर्वतीय पर्यटनको साखलाई खँदिलो बनाएर समग्र व्यवसायीको हित अनुकूलको संस्था स्थापित गर्ने बताए ।
टानलाई विशुद्ध व्यावसायिक संस्थाका रूपमा विकास गरी परिवर्तित अवस्थामा संस्थाको भूमिकालाई व्यापक बनाएर अघि बढ्ने बाँस्तोलाको योजना छ । आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ ।
टानको अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् ।
Comments are closed.