शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं । कोका-कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो-थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी, भारत र दक्षिण पश्चिम एसियाका लागि सस्टेनिबिलिटी र सिएस्आर डिरेक्टर राजेश अयापिल्ला, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र र कोका-कोला बोटलर्स नेपाल लिमिटेडका प्रतिनिधिहरूको उपस्थितिमा अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको हो ।

एकपटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रति सेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ ।
अक्सिजन प्लान्ट स्थापनाको लागि क्रिएसन र कोका-कोला फाउन्डेसनलाई धन्यवाद दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव गुरागाईंले भनिन्, “कोभिड महामारीले हामीलाई स्वास्थ्यजन्य विपतहरुबाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्छ भन्ने कुराको महसुस गराएको छ । स्वास्थ्य सेवा क्षेत्रमा यस्तो सक्रिय संघ-संस्थाहरूको सहयोग पाउँदा हामी निकै खुसी छौँ ।”

त्यस्तै स्वास्थ्य सेवाको महत्वलाई आत्मसात गर्दै सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोका–कोला फाउन्डेसनले जनाएको छ । कोका-कोला फाउन्डेसनको सहयोगले स्वास्थ्य क्षेत्रमा भएको संकटलाई सम्बोधन गरी पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने मनमोहन अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल वि.सं १९८३ मा स्थापना भएको थियो । यो त्रिभुवन विश्वविद्यालय ( टियू) को चिकित्सा संस्थान(आइओएम) को एउटा अभिन्न अंग हो । ७०० शैयाको सुविधा भएको त्रिवि शिक्षण अस्पताल नेपालको लोकप्रिय सरकारी अस्पताल हो । यस अस्पतालले विभिन्न चिकित्सा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्दै आएको छ भने, नेपालमा बायोमेडिकल र स्वास्थ्य विज्ञान अनुसन्धान ( बिएच्एस्आर) मा पनि ठूलो टेवा प्रदान गर्दै आएको छ ।

२२ वटा छुट्टा-छुट्टै विभागहरू भएको त्रिवि शिक्षण अस्पतालले आधारभूत चिकित्सा सेवा तथा सर्जिकल समस्याहरूदेखि लिएर क्यान्सर वार्डको साथै मुटुको शल्यक्रिया र मृगौला प्रत्यारोपण सम्बन्धि सेवाहरू प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थान (आइओएम) अन्तर्गत विस २०६६ वैशाख १३ गते स्थापना भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर ( एमसिभिटिसि) मा मुटु तथा फोक्सोको विशेषज्ञ उपचार सेवा उपलब्ध छ ।

अत्यन्त दक्ष, अनुभवी र समर्पित चिकित्सकहरूको नेतृत्वमा संचालित एमसिभिटिसिलाई प्यारामेडिकल तथा गैर–चिकित्सा क्षेत्रमा पूर्ण रुपमा समर्पित कर्मचारीहरूको राम्रो साथ र सहयोग छ।

You might also like

Comments are closed.