फेरिएको तिहार : देउसीभैलो लोप हुने अवस्थामा !

शान्ता आचार्य, काठमाडौं । भैलिनी आइन् आँगन………..
‘हरियो गोबरले लिपेको ……’ ।

तिहार लागेदेखि सञ्चार माध्यममा यो गीत बजिरहेको छ। प्रत्येक फोनकलमा यही गीतको धुन सुनिन्छ । तर अब कहाँ पाउनु हरियो गोबर ? कङ्क्रिटको घर कङ्क्रिटकै आँगनमा पूजा सामग्री पसलबाट ल्याइएको एकमुठी रातो माटोमा गेरु मिसाएर लक्ष्मीका पाइला बनाउन थालिएको सहरमा धेरै भयो । “भर्खर संसार चिन्दै गरेका केटाकेटीलाई हरियो गोबरबारे बुझाउन कक्षा नै चलाउनुपर्ने देखिन्छ”, अहिले चन्द्रागिरि नगरपालिका–१५ हुन पुगेको तीनथाना गाउँविकास समितिका तत्कालीन अध्यक्ष गोपीचन्द्र कार्की बताउछन्।

केही वर्ष अघिसम्म स्वदेशी मौलिकपन बचाएको ठानिने काँठमा समेत हरियो गोबरले लिप्नुको साटो आयातित रङ प्रयोग गरेर विभिन्न आकृति (रङ्गोली) बनाउने गरिएको छ । खासगरी युट्युबमा हेरेर त्यस्तै सिको गर्ने चलन अहिले सबैतिर छ । हरियो गोबर मात्र होइन ‘हरियो गोबरले लिपेको ……’ भन्दै भैलो खेल्न आउने पनि हराए ।

बाटो छेउमा रहेको कार्कीको घरमा रातभर देउसीभैलो खेल्ने समूह पुग्थे । गत वर्ष दुई वटा समूह मात्र छिरेपछि परिवारमा कुरा भयो ‘अब देउसीभैलो लोप हुने भयो’ । यसपालि त अझ राति झण्डै ११ बजेसम्म बस्दा पनि कोही आएनन् । आफ्नो बाल्यकाल र किशोर अवस्था सम्झँदै कार्की भन्छन्, “दसैं सकिनासाथ टोल छिमेकमा जम्मा हुने र देउसीभैलोका लागि कसले लालटिन किन्ने ? कसले मट्टितेल किन्ने आदि जिम्मेवारी बाँडफाँट हुन्थ्यो। रातभरि देउसी खेलिन्थ्यो ।

एउटा घरबाट एकमाना जति धान, त्यतिनै चामल, सेलरोटी र १०/१५ पैसाको दक्षिणा मिल्थ्यो । त्यसैलाई भाग लगाएर टीकाका दिन दिदीबहिनीलाई दक्षिणा दिथ्यौँ र जम्मा भएको धान चामल उपयोग गर्न एक दिन वनभोज जाने चलन थियो । अब ती सबै सम्झनामा मात्र भए ।”

यस्तै अनुभूति छ, अहिले दक्षिणकाली नगरपालिकामा पर्ने तत्कालीन शेषनारायण गाविसका अध्यक्ष शशी शर्मा पौडेलको पनि । विसं २०५१ मा शर्मा गाविस अध्यक्ष रहँदा रातभर देउसीभैलो हुने र त्यसमा केही विकृति पनि देखिन थालेको थियो । दक्षिणाको लागि मोलमोलाई गर्ने भने जति नदिए जे पायो त्यही बोलेर हिँड्ने प्रवृत्ति देखा परेको थियो । त्यसपछि गाउँका केही पाका मानिस जम्मा गरेर राति ११ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने र दक्षिणासमेत २५ रुपैयाँभन्दा बढी माग्ने निर्णय भएको उनले बताए ।

त्यसलाई कार्यान्वयन गर्न गाविसले प्रहरी परिचालन मात्र गरेन, गाविस पदाधिकारी सबैलाई अनुगमनमा खटायो। पछि त्यसलाई गाउँमै एक सामुदायिक भेला गरेर ५१ रुपैयाँसम्म पुर्‍याउने निर्णय भएको पनि उनले बताए । तर देउसीभैलो विस्तारै सेलाउँदै गएको अनुभव उनको छ । समयअनुसार बाजागाजा, साउण्ड सिस्टम आदि थपिँदै जानु स्वाभाविक भए पनि लोप नै हुने अवस्था आउन भने दिन नहुने शर्मा बताउँछन् ।

सबैभन्दा धेरै त रङ्गीन बत्तीले तिहारको फरकपन अनुभूत गराउँछ। “उज्यालो र बत्तीको पर्वका रूपमा मानिने तिहारमा यति धरै बत्ती कहाँ बल्थे र ?” आफ्नै बालककाल सम्झँदै ७१ वर्षीय शर्मा भन्छन्। उनका अनुसार त्यतिबेला आजका विद्युत्तीय बत्तीको कल्पना नगरिएको मात्र होइन काँठमा मैनबत्ती पनि थिएन । केराको सुत्लालाई काटेर त्यसमाथि एकछिन बालेको बत्ती नै त्यतिबेलाको तिहारको उज्यालो थियो ।

त्यतिबेला तरकारीमा भुटन हाल्नसमेत तेल नपुग्ने बेला पालामा दियो तेल हालेर धेरैबेर बत्ती बाल्नसमेत अधिकांश मान्छेले सक्ने थिएनन् । सहर पुग्दा शून्य वाटको चिमको एक लहर केही व्यापारीको घरमा देखिन्थ्यो ।

“त्यो नै हाम्रा लागि अचम्मको कुरा हुन्थ्यो”, उनको भनाइ छ । तीनथानामा केही मानिसले घर ढलान गर्दा माथिल्लो टपमा तिहारका लागि होल्डर फिट गर्न थालेका थिए । अहिले त्यो पनि पुरानो चलन हुन थालेको कार्की बताउछन् ।

भाइलाई दिइने मसला र फलफूलमा पनि निकै मात्रामा परिवर्तन भएको महसुस वयोवृद्धहरू गर्दैछन्। अहिलेभन्दा निकै परिमाणमा मसला र गाउँघरकै सुन्तला, अम्बा र हलुवावेद फलफूलका रूपमा प्रयोग हुन्थ्यो। “सिङ्गो फर्पिङ बजारमा एउटै फलफूल पसल थिएन”, शर्मा भन्छन्। उनका अनुसार तिहारको विशेष मसला भनेकै कटुस हुन्थ्यो । रासस

You might also like

Comments are closed.